गुटबन्दी अन्त्य गर्न सभापति बन्छु, बैशाखी टेकेर पार्टी चल्दैन : डा. शशांक कोइराला

कांग्रेसलाई बीपीको पालाको जस्तो बनाउने दाबी, निर्वाचन प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रभावशाली नेता डा. शशांक कोइरालाले पार्टीभित्र मौलाउँदो गुटबन्दी अन्त्य गर्न आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले कांग्रेसलाई ‘बीपी कोइरालाको पालाको जस्तो’ जीवन्त र बलियो बनाउन आफ्नो उम्मेदवारी अनिवार्य भएको दाबी गरेका हुन् । 

कांग्रेसको धनुषा जिल्ला पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले गुटबन्दीका कारण पार्टी दिनप्रतिदिन कमजोर बन्दै गएको र त्यसलाई आफूबाहेक अरू कसैले अन्त्य गर्न नसक्ने जिकिर गरे । ‘मैले बीपी कोइरालाको पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु । यही कारणले म नेपाली कांग्रेसको सभापति बन्नुपर्छ,’ उनले भने, ‘मलाई कुनै लोभ छैन, म त कांग्रेसलाई बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि राजनीतिमा आएको हुँ ।’

आफ्नो पारिवारिक विरासतको स्मरण गर्दै उनले आफ्नो परिवारले देश र पार्टीका लागि गरेको त्यागको पृष्ठभूमिमा आफूले पनि निःस्वार्थ सेवा गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा डा. कोइराला गठबन्धनप्रति निकै आक्रामक रूपमा प्रस्तुत भए । गठबन्धनका कारण कांग्रेसका हजारौँ कार्यकर्ता अवसरबाट वञ्चित हुनुपरेको भन्दै आफू गठबन्धनको घोर विरोधी रहेको स्पष्ट पारे । ‘बैशाखी चाहिन्छ भने पार्टी किन चलाउनु हुन्छ ? आफैँ हिँड्नुपर्छ,’ उनले भने, ‘कांग्रेसलाई एकजुट र बलियो बनाउनुपर्छ । अहिले टिकट एक जनाले पाउँछ, तर सबै हराउन लाग्छन्, अनि कसरी जितिन्छ ? म सभापति भएपछि यस्तो अवस्था अन्त्य गर्छु ।’

उनले टिकट वितरण प्रणालीलाई विकेन्द्रीकृत गर्नुपर्नेमा जोड दिए । प्रभावशाली नेताहरूले केन्द्रमा बसेर टिकट बाँड्ने प्रवृत्तिको अन्त्य गर्दै वडा, पालिका, क्षेत्र र जिल्ला सभापतिको सल्लाह र सिफारिसमा उम्मेदवार तय गरिनुपर्ने उनको भनाइ थियो ।

नेता कोइरालाले कांग्रेसको विधानमा नै आमूल परिवर्तनको प्रस्ताव अघि सारेका छन् । उनका अनुसार, पार्टीभित्रको गुटबन्दी र अन्तर्घातको जड नै सबै पदमा हुने निर्वाचन हो । ‘वडादेखि केन्द्रीय तहसम्म एउटै सभापति पदमा मात्रै निर्वाचन हुनुपर्छ । अरू पदाधिकारी निर्वाचित सभापतिले मनोनीत गर्नुपर्छ,’ उनले भने, ‘सबै पदमा चुनाव गराउँदा गुटबन्दी बढ्छ र आम चुनावमा अन्तर्घात हुन्छ ।’

आफ्नो सम्बोधनमा उनले मधेसलाई कांग्रेसको ‘जग’ को संज्ञा दिए । ‘मधेसमा कांग्रेस बलियो हुँदा मात्रै देशको राजनीति सही मार्गमा रहन्छ,’ उनले भने, ‘मधेस नै कांग्रेसको उत्पत्ति थलो हो । बीपी कोइरालादेखि धेरै नेता मधेसकै हुन् । आउने दिनमा मेरो सम्पूर्ण ध्यान मधेसमा केन्द्रित हुनेछ ।’

महाधिवेशनको मितिबारे कार्यकर्ताको जिज्ञासामा उनले सभापति शेरबहादुर देउवासँग भएको संवादबारे जानकारी गराए । ‘मैले चुनावको एक वर्षअघि नै अधिवेशन गरौँ भनेँ, तर त्यो सम्भव भएन,’ उनले भने, ‘त्यसपछि उहाँ प्रधानमन्त्री भएर अधिवेशन गराउने कुरामा सहमत हुनुभएको छ । तर, उहाँलाई प्रधानमन्त्री बन्न ओलीजीले दिनुहुन्छ कि हुन्न, त्यो हेर्न बाँकी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =