व्यापारी भुसाल आत्महत्या प्रकरण : माओवादी नेतासहित ५ जना पक्राउ

दाङ । तुलसीपुरका चर्चित व्यापारी दुर्गा भुसालको आत्महत्या दुरुत्साहन मुद्दामा एकजना माओवादी नेतासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भुसालले मृत्युअघि लेखेको सुसाइड नोटको आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।
प्रहरी स्रोतका अनुसार, पक्राउ पर्नेमा नेकपा (माओवादी केन्द्र) तुलसीपुरका नगर सह-इन्चार्ज चित्रबहादुर खड्का (अनुपम) रहेका छन् । त्यस्तै, तुलसीपुर उपमहानगरपालिका-५ की ४२ वर्षीया खुमा भनिने राधिका वली, रुकुम घर भई हाल तुलसीपुर-५ बस्ने ४२ वर्षीय चन्द्रबहादुर खड्का, ४० वर्षीय यादव श्रेष्ठ र तुलसीपुर-६ की ४० वर्षीया नन्दा वलीलाई पनि नियन्त्रणमा लिइएको छ । उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
भुसालले लेखेको सुसाइड नोटमा ८ जनाको नाम किटानी गरिएकोमा ५ जना पक्राउ परेका र अन्य ३ जना फरार रहेको प्रहरीले बताएको छ । फरार रहेकाहरूको खोजी कार्य जारी छ । तुलसीपुरमा ‘कालिका अडियो सेन्टर’ सञ्चालन गर्दै आएका व्यापारी भुसाल गत मंगलबार राति आफ्नै पसलभित्र मृत अवस्थामा फेला परेका थिए ।
मृतक भुसालले विभिन्न व्यक्तिहरूलाई सापटी दिएको करोडौँ रुपैयाँ समयमै फिर्ता नआएपछि चरम आर्थिक र मानसिक तनावका कारण आत्महत्याको बाटो रोज्नुपरेको व्यहोरा सुसाइड नोटमा उल्लेख गरेका थिए । सोही नोटका आधारमा प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको हो ।








