मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको दोहोरो प्रभावले नेपालमा मनसुन गतिविधि थप सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) दिउँसो र राति गरी पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
महाशाखाका अनुसार, हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यतया बदली रही पहाडी भूभागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । विशेषगरी, लुम्बिनी प्रदेशको तराई तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।
यस्तै, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना बढी छ । रातिको समयमा गण्डकी प्रदेशको पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले विशेष आग्रह गरेको छ ।








