मुलुकको विकासका लागि तीन तहको सरकारले आफ्नो गति बढाउन जरुरी : मन्त्री न्यौपाने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मुलुकको विकासका लागि तीन तहको सरकारले आफ्नो गति बढाउन जरुरी रहेको बताएका छन् ।
शुक्रवार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिकरण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपाने यस्तो बताएका हुन् ।
उनले सेवा प्रवाहका सवालमा स्थानीय तहहरूले अझै धेरै काम गर्न जरुरी रहेको पनि बताए । उनले संविधानतः संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूलाई अगाडि बढाउने, प्रदेश सरकारले विकास निर्माणका कामलाई ध्यान दिने र स्थानीय तहले सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले तीन तहको सरकारबीच आपसी सहकार्य र समन्वय गरेर अगाडि बढ्न सकेमात्र मुलुक र जनताको अवस्था परिवर्तन गर्न सकिने कुरामा जोड दिए । उनले स्थानीय तहको सेवा प्रवाहको अवस्थाको मूल्याङ्कन गर्नको लागि कार्यसम्पादन मूल्याङ्कन प्रणालीको विकास गरिएको मन्त्री न्यौपानेको जिकिर छ ।
उनले भने ‘अब हामी हिँडेर मात्र पनि पुग्दैन । हाम्रो गतिलाई अगाडि बढाउनुपर्नेछ । यदि हामीले देशको विकास गर्ने हो भने हाम्रो आफ्नो गति पनि बदल्नुपर्नेछ । हामी दौडिनुपर्नेछ । जनप्रतिनिधिहरू पनि त्यसैअनुसार लाग्नुपर्नेछ र स्थानीय तहहरूले अझै धेरै ध्यान दिनुपर्नेछ । स्थानीय तह हाम्रो संविधानको मक्सद भनेको पनि संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूलाई अगाडि बढाउने हो । राष्ट्रियस्तरका ठुला ठुला इस्युहरुलाई अगाडि बढाउने हो । प्रदेश सरकारले विकास निर्माणका कामलाई ध्यान दिने हो भने स्थानीय तहले सर्भिस डेलिभरीलाई ध्यान दिने हो । यसरी तीन तहको सरकारले आपसी सहकार्य र समन्वय गरेर अगाडि बढियो भने निश्चित रूपमा जनताको अवस्था पनि बद्लिन्छन् । त्यसैले तपाईँहरूले गर्ने कार्यसम्पादन पनि त्यही अनुसार हुनुपर्छ । त्यसैले मन्त्रालयमा कार्यसम्पादन मूल्याङ्कन प्रणालीको विकास गरेको हो ।’
मुलुकको विकासका लागि विकसित देशहरूलाई पछ्याउँदै सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा उनको जोड छ ।








