सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरण संरक्षणमा जोड दिएकी छन् ।

उनले युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा आज बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङ क्षेत्रमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिन् ।

सो कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण नेपाल समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘नेपाल जलवायु परिवर्तनको प्रभावबाट सङ्कटमा छ । हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौँ र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था छ । त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने छ ।’

नेपालले केही महिनाअघि सगरमाथा संवादको आयोजना गरेर हामी कसरी जलवायु परिवर्तनको चपेटामा परेका छौँ भन्ने कुरा स्पष्ट जानकारी गराएको र नेपालको अवस्थाका बारेमा आफ्ना धारणासहितको २५ बुँदे कार्य योजना समेत सार्वजनिक गरेको जानकारी उनले दिइन् ।

मन्त्री राणाले नेपालका तर्फबाट आफूले पहिलोपटक अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रूपमा उठाएको स्मरण गरिन् ।

अब ‘कार्बन ट्रेड, लस एण्ड ड्यामेज फण्ड’सहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि पहल गर्ने जानकारी गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =