कोइका–नेपाल सहकार्यको ३० वर्ष पूरा

काठमाडौँ । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) ले नेपालमा विकास कार्य गर्न थालेको ३० वर्ष पूरा भएको छ ।
शुक्रवार काडमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कोइका–नेपालले विकास सहकार्यको ३० औँ वर्षगाँठ मनाएको हो । सोही अवसरमा शुक्रवार कोइका नेपालले नेपालमा विकास सहकार्यको लागि थप ३० मिलियन अमेरिकी डलर बराबरको परियोजना नेपालमा सञ्चालन गर्ने घोषणा समेत गरेको छ ।
कोइकाका एशोसिएट डाइरेक्टर विकास रावलले नेपालसँगको दीर्घकालीन सहकार्य र समन्वय जारी रहने विश्वास व्यक्त गर्दै सहयोग परियोजनाहरू मार्फत नेपाल विकासको अर्को चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि कोइकाले नेपालको विकासमा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले भने ‘कोइकाले आज नेपालमा काम गर्न थालेको ३० वर्ष पुगेको छ । त्यसै मौकामा ३० मिलियन डलरको प्रोजेक्ट अनाउन्स गरेको छ । कोइकाले नेपालमा निरन्तर काम अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रममा कोइकाको सहयोगमा विगत ३० वर्षमा नेपालमा धेरै कामहरू गर्न सफल भएको भन्दै कोरिया सरकारलाई धन्यावाद दिए । उनले अगामी वर्ष नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने उल्लेख गर्दै कोइकाले थप सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।
उनले भने ‘हामीले यो ३० वर्षमा कोरिया सरकारको सहकार्यमा नेपालमा धेरै कामहरू गरेका छौँ । यस सहकार्यमार्फत सहयोग गर्नुहुने सबैमा धन्यावाद दिन चाहन्छु । हामीले सन् २०३० सम्ममा धेरै कामहरू गर्नुपर्ने छ । आउँदो वर्ष हामी विकासशील देशमा समेत स्तरोन्नति भइरहेका छौँ । त्यसकारण गएको ३० वर्ष हामीले जे जस्तो ढंगले काम गर्यौँ अबको दिनमा हामीले काम गर्ने तौर तरिकाहरू र पार्टनरसिपका अरू ढोकाहरू पनि नयाँ ढंगले खोल्नुपर्ने हुन्छ । यो ३० वर्षमा नेपालको क्षमता अभिवृद्धि गर्ने सवालमा नेपालले कोरिया सरकारबाट जुन सहयोग पाएको छ त्यो एउटा खुसिको कुरा हो । अगामी दिनमा समेत आपसी सहकार्य र समन्वयका साथ अगाडि बढ्न सकौँ भन्ने विश्वास समेत व्यक्त गर्दछु ।’
कोइकाले नेपालमा ३० वर्षदेखि शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामुदायिक विकासका विभिन्न क्षेत्रहरूमा योगदान पुर्याउँदै आएको छ ।








