प्रभावकारी समन्वय तथा सहकार्यमार्फत प्रादेशिक विकासमा जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको प्रादेशिक सरोकार समयमा सांसदहरूले सङ्घ र प्रादेशिक सरकारबीच प्रभावकारी समन्वय तथा सहकार्यका विकासमा जोड दिएका छन् ।

बैठकमा दलीय आधारमा बोल्दै नेपाली कांग्र्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले भारत र चीनबीच हालै भएको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा व्यापार सम्झौताको विषय गम्भीर भएको बताए ।

उनले प्रधानमन्त्रीबाट हुने भारतको आसन्न भ्रमणका दौरानमा नेपालले यो विषयलाई कडाइका साथ उठाउनुपर्नेमा जोड दिए ।

सांसद ढुङ्गानाले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन र नीति बनाएर तीन तहका सरकारले व्यावहारिक कार्यान्वयनमा लैजानुपर्ने खाँचो औँल्याए ।

कांग्रेस सांसद विष्णुकुमारी सापकोटाले लुम्बिनी प्रदेशको आर्थिक उन्नतिका लागि पहलकदमी लिन माग गरिन् ।

उनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, होटल पूर्वाधारमा लगानी बढाउने वातावरण निर्माणका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद तारामान स्वारले लिपुलेक पासलाई व्यापार मार्गका रूपमा प्रयोग गर्ने भारत र चीनबीच हालै भएको सम्झौताप्रति आपत्ति जनाउँदै कूटनीतिक माध्यमद्वार उक्त समस्याको हल गर्न ध्यानाकर्षण गराए ।

उनले सुदूरपश्चिम प्रदेशमा कृषि उत्पादनमा आधुनिकीकरण, किसानलाई सिँचाइ, मलखाद आदिको व्यवस्था गर्न माग गरे ।

माओवादीकै रेनु चन्दले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डताको विषयमा सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले सुदूरपश्चिम प्रदेशका प्रसिद्ध धार्मिक एवं पर्यटकीय गन्तव्यको संस्थागत विकास र प्रवद्र्धन गर्दै आर्थिक समृद्धिको यात्रा अगाडि बढाउनुको विकल्प नरहेको उल्लेख गरे ।

नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाह गरिमाले नेपाली भूमि लिपुलेकको विषयमा देखिएको विवाद कूटनीतिक तवरले समाधान खोज्न सरकारसमक्ष माग गरे ।

भारत र चीनले आ–आफ्नो स्वार्थमा नेपालको भूमि अतिक्रमण गरेको उनको भनाइ थियो । शाहले नेपालले चुच्चे नक्सा जारी गरेको र एकलौटी नेपाललाई कुनै जानकारी नदिई नेपालको भूमिमाथि अतिक्रमण गरी राष्ट्रिय अस्मितामाथि प्रहार गरेको टिप्पणी गरे ।

समाजवादीकै राजेन्द्रलक्ष्मी गैरेले लुम्बिनीको अथाह सम्भावना पर्यटन, कृषि, सडक सञ्जाल आदिलाई सदुपयोग गर्दै आर्थिक विकास र समृद्धिमा ध्यान दिइनुपर्ने बताइन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले तराई–मधेसमा यो वर्ष सुक्खाग्रस्त भएकाले कृषि उत्पादनमा ह्रास आउने भन्दै कृषकलाई राहतका लागि प्रभावकारी योजना ल्याउन सरकारसमक्ष माग गरे । उनले सङ्घीय सरकारले अन्तरप्रदेश समन्वयका साथ प्रदेशका समस्या सम्बोधन गर्न माग गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद शेखरकुमार सिंहले अन्न भण्डार तराई मधेसमा सुक्खाग्रस्त समस्याले कृषक मारमा परेको भन्दै सङ्घीय सरकारमार्फत मधेस प्रदेशले विशेष राहत ‘प्याकेज’ पाउने आशा व्यक्त गरे । उनले राजविराज विमानस्थलमा उडान विस्तार गर्न पनि माग गरे ।

नेकपा (एमाले) का सांसद इन्दिरादेवी गौतमले लिम्पियाधुरा, लिपुलेकबारे भारत र चीनले नेपाललाई थाहै नदिइ गरेको व्यापार सम्झौताको विषयलाई कूटनीतिक पहलमार्फत सरकारले समाधान खोज्नुपर्ने बताइन् ।

कोशी प्रदेशको प्राकृतिक र सांस्कृतिक विविधता, सगरमाथालगायत सम्पदाको प्रवद्र्धन तथा कृषि उत्पादनमा आधुनिकीकरण गरी आर्थिक समृद्धिमा जोडिनुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =