भारतलाई माओवादी सांसदले भनिन्- हात्तीसँग लड्न परे पनि तयार छौँ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्द लिपुलेकमा चीन—भारतबीच भएको व्यापार मार्ग खुलाउने सहमतिबारे कूटनीतिक पहल गर्न सरकारसँग माग गरेकीछन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद चन्दले यस्तो आग्रह गरेका हुन् । उनले हात्तीसँग लड्न परे पनि आफूहरू लड्न तयार रहेको बताइन् ।

हात्तीरुपी भारतसँग लड्न कमिलारुपी नेपालीहरू तयार रहेको उनको भनाइ छ । सबै राष्ट्रिय शक्तिहरू मिलेर कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ । सुदूरपश्चिमका जनतालाई धेरै समस्या परिरहेको भन्दै आफू पनि जनयुद्धकालीन ट्रेनिङ प्राप्त व्यक्ति भएको बताइन् ।

उनले भनिन् ‘हामी हात्तीसँग लड्न परे पनि लडौँला । हात्तीसे लड्जायेगी चिटीकी टोली । तयारी गर्नुस् । कूटनैतिक पहल तपाईँहरूको पुग्दैन भने नडराउनु होला । म त जनयुद्ध लडेको मान्छे हुँ, ट्रेनिङ प्राप्त छु भन्ने पनि सरकारलाई जानकारी गराउन चाहन्छु । यद्यपि मैले यस्तो कुरा गर्दा आइज दुई दुई हात गरिहालौँ भन्न खोजेको होइन । मूल जरो त कूटनीतिक पहल नै हो ।’

सांसद चन्दले सीमा क्षेत्रमा नेपालीहरूको अवस्था नाजुक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eight =