साना देशहरूलाई हेप्ने भारत–चीनको प्रवृत्तिविरुद्ध दृढ भएर उभिनुपर्छ : एमाले

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले भारत र चीनबीच कालापानी क्षेत्रमा भएको सीमा व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै नेपालले प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दुई ठुला छिमेकी देशहरूले साना देशहरूलाई हेप्ने प्रवृत्तिविरुद्ध नेपालले दृढतापूर्वक उभिनुपर्ने आवश्यकता बताए । उनले सीमा व्यापार सम्झौताले नेपालको सार्वभौमिकतामाथि चोट पुर्याएको उल्लेख गर्दै कूटनीतिको माध्यमबाट उक्त समस्या समाधान गर्न सरकारसँग आग्रह समेत गरे ।

भट्टराईले पश्चिम क्षेत्रमा काली नदीलाई आधार मानेर गरिएका पुराना सम्झौता अझै कायम रहेको स्मरण गर्दै ती सम्झौताका कार्यान्वयनमा भारतले बारम्बार अवरोध सिर्जना गर्दै आएको आरोप लगाए । उनले भारतले सैनिक फिर्ता नगरेको र नेपालको नक्सामा समेटिएको भूभागलाई भारतले समेत आफ्नै नक्सामा देखाएको विषय गम्भीर भएको उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यो विषयमा गम्भीर छलफल गर्नुपर्ने धारणा राखे ।

उनले भने ‘भारत र चीन सरकारले गरेको सीमा व्यापार सम्झौताको हामीले विरोध गर्नुपर्छ । उनीहरूको साना देशहरूलाई हेप्ने जुन प्रवृत्ति छ । त्यो प्रवृत्तिको विरुद्धमा हामी जानुपर्छ । पहिले पनि यस्तो सम्झौता गरिएको थियो । त्यतिबेला सरकारले कूटनीतिक नोटहरू पठायो । र त्यो रोकिएको पनि थियो । अहिले फेरि यो काम सुरु भएको छ । नेपालको भूभाग पश्चिममा काली नदी मानेर गरिएका सम्झौताहरू कायमै छन् । ती सम्झौताहरूलाई कार्यान्वयन गर्ने कुरामा अवरोध सिर्जना गर्ने र बेला बेलामा हस्तक्षेप गर्ने काम भएको छ । भारतले सैनिक फिर्ता नलैजाने र हामीले नेपालको नक्सामा समेटेपछि भारतले पनि आफ्नो नक्सामा समेट्यो । प्रधानमन्त्रीको भ्रमणको समयमा त्यस विषयलाई जोडतोडका साथ उठाएर समाधानको बाटोमा लैजानुपर्छ ।’

उनले इतिहासको विभिन्न कालखण्डमा भएका सन्धि, सम्झौताको आधारमा समेत महाकालीमाथिका तीन गाउँ लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =