सधैँ नकारात्मक कुरा मात्रै सुन्नुपर्दा दिक्क छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएका सकारात्मक कामको चर्चा हुनुको साटो नकारात्मक भाष्य निर्माण गर्ने परिपाटी मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । सिस्नुपानी नेपालद्वारा आयोजित ‘जुरुक्क कर्णाली’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देश विकासका लागि भएका प्रयास र कामहरूको उचित मूल्याङ्कन नभएकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘हाम्रो अलिकति नकारात्मक एटिट्युड बनेको छ । त्यसकारण सकारात्मक सोचको विकास गरौँ । सकारात्मकताका साथ अघि बढौँ ।’ सबै नेपाली सकारात्मक भएर अघि बढे देश बन्न समय नलाग्ने उनको तर्क थियो ।

आफूमाथि हुने गरेका व्यंग्यात्मक आलोचनाहरूप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई ‘केही नगर्नेले केही गर्नेलाई झट्टी हानेको’ जस्तो भएको टिप्पणी गरे । कर्णाली प्रदेशको विकासमा आफ्नो पनि महत्त्वपूर्ण योगदान रहेको दाबी गर्दै उनले भने, ‘पर्सनल्ली पनि कसले कति गरेको छ, कर्णालीको लागि भन्ने म त टाढाकै मान्छे हुँ, झापाको एउटा कुनाको मान्छे । केही साथी मात्रै अघि जानुहोला नत्र प्रतिस्पर्धामा पर्दछु ।’

विगतमा आफूले दैलेखमा ग्यास खानीको सम्भाव्यता औँल्याउँदा उडाउनेहरू नै अहिले ग्यास पत्ता लाग्दा पनि प्रशंसा गर्नुको साटो विरोधमा लागेको उनले बताए । ‘ग्यासको खोजी गर्नुपर्छ, ग्यास पाइनसक्छ भन्दा उडाउनेहरु थुप्रै थिए । आज ग्यास पाइयो,’ उनले भने, ‘सक्कली कर्णाली त त्यस्तो वैगुनी हुनै सक्दैन ।’

कर्णालीमा विश्वविद्यालय स्थापना भएको, दुर्गमबाट सुत्केरी महिलाहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको र सडक सञ्जाल विस्तार भएको जस्ता महत्त्वपूर्ण कामको चर्चा नै नहुने गरेकोमा उनले गुनासो गरे । ‘ग्यास पाइयो, चर्चा नै नगर्ने, विश्वविद्यालय बन्यो चर्चा नै नगर्ने, कोही सुत्केरी हुँदा हेलिकप्टरबाट ल्याएको नदेख्ने, बाटो बन्यो, चर्चा नै नगर्ने,’ उनले भने ।

केही कमजोरी भए सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘बन्छ कर्णाली, बनाउनुपर्छ । उठ्छ कर्णाली ।’ नेपाल बन्ने र बनिरहेको विश्वास आफूमा रहेको उनको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =