सेमिफाइनलको झिनो आशासहित नेपाल आज बलियो पाकिस्तानविरुद्ध मैदानमा

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक लिग खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बलियो प्रतिद्वन्द्वी पाकिस्तान शाहिन्सको सामना गर्दैछ । यो खेल नेपालका लागि सेमिफाइनल पुग्ने झिनो आशा जीवित राख्न जित्नैपर्ने दबाबसहितको महत्त्वपूर्ण परीक्षा हो ।
डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । सुरुवाती तीन खेलमा लगातारको हारले कमजोर बनेको नेपालले पछिल्ला दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगितामा आफ्नो उपस्थिति जनाएको छ । पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रोमा बंगलादेश ‘ए’ सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएपछि नेपालको यात्रा कठिन देखिएको थियो ।
तर, चौथो खेलमा होबार्ट हुरिकेन्सलाई ६६ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले लय समात्यो । त्यसपछि बुधबार भएको पाँचौँ खेलमा मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको थियो । यो जितसँगै नेपालले ५ खेलबाट ४ अंक जोडेको छ र अंक तालिकाको सातौँ स्थानमा छ । अर्कोतर्फ, पाकिस्तान शाहिन्सले ५ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा आफ्नो स्थान लगभग सुरक्षित गरिसकेको छ ।
के छ सेमिफाइनलको समीकरण ?
एघार टोली सहभागी प्रतियोगितामा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाललाई अन्तिम चारमा पुग्न आजको खेल जित्नैपर्ने हुन्छ । तर, जित मात्रै पनि पर्याप्त नहुन सक्छ । सेमिफाइनलमा स्थान बनाउन नेपालले पाकिस्तानलाई फराकिलो अन्तरले हराएर आफ्नो नेट रनरेटमा उल्लेख्य सुधार गर्नुपर्नेछ ।
साथै, सेमिफाइनलका लागि अन्य टोलीको नतिजा पनि आफू अनुकूल आउनुपर्ने जटिल समीकरण बनेको छ । त्यसैले आजको खेल नेपालका लागि जितभन्दा पनि प्रतिष्ठा र गणितीय सम्भावनाको लडाइँ हुनेछ ।








