संसद्का दुवै सदनमा आज महत्त्वपूर्ण विधेयक र प्रश्नोत्तर, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकहरू आज बस्दैछन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाइएका यी बैठकहरूमा महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने तथा मन्त्रीहरूसँगको प्रश्नोत्तरको कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक अपराह्न १ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १२:१५ बजे प्रारम्भ हुनेछ । आजको प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ । गृह, श्रम, युवा तथा खेलकुद, र वन मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूमा मन्त्रीहरूले सांसदहरूका जिज्ञासा मेटाउने छन् ।

बैठकको कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्नका लागि प्रस्तुत गर्नेछन् । यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ सदनसमक्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ पेस गर्नेछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

यता, राष्ट्रियसभामा आज गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई छलफल गरी पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने महत्त्वपूर्ण कार्यसूची छ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । बैठकमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम पनि तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 10 =