सहकारी ठगी : अञ्जला कोइरालासहित चार जनासँग जनही १ करोड धरौटी माग

काठमाडौं । उमागौरी कृषि सहकारी संस्थाको करोडौँ रुपैयाँ अपचलन प्रकरणमा उच्च अदालत विराटनगरले संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित चार जनासँग जनही १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ ।

उक्त सहकारीको बचत अपचलन मुद्दामा तत्कालीन सञ्चालक सदस्य अञ्जला कोइराला, सञ्चालक सदस्य रोशन राजवंशी, पूर्वउपाध्यक्ष तथा हाल रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास र सञ्चालक सदस्य ज्योति बास्कोटालाई धरौटी माग गरिएको हो ।

यसअघि जिल्ला अदालत मोरङले कोइरालालाई २०७९ पुस २४ गते १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । खवास र बास्कोटालाई भने जनही ५ लाख धरौटीमा रिहा गरिएको थियो। राजवंशीलाई भने २०७९ मंसिर २८ गते थुनामा पठाइएको थियो । २०७९ माघ २१ गते अध्यक्ष शम्भुप्रसाद रौनियारसमेत थुनामा पठाइएको हो ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा परेको निवेदनमा न्यायाधीशहरू श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाबीच राय बाझिएपछि मुद्दा तेस्रो बेञ्चमा पुगेको थियो । पुडासैनीले जिल्ला अदालतको आदेश सदर गर्नुपर्ने धारणा राखेकी थिइन् भने बास्तोलाले प्रतिवादीहरूलाई जनही १ करोड धरौटीमा रिहा गर्नुपर्ने मत राखेका थिए ।

राय बाझिएपछि गत बिहीबार न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासबाट कोइरालासहित चार जनालाई जनही १ करोड धरौटी माग गर्ने आदेश जारी गरिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए । राय बाझिएको कारण यो मुद्दामा पटक–पटक पेशी स्थगित हुँदै आएको थियो ।

उक्त सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ अपचलनको आरोपमा २०८१ मंसिर २७ गते मोरङ जिल्ला अदालतमा २६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

हाल सहकारी अध्यक्ष सम्भूप्रसाद रौनियार र रोशन राजवंशी पूर्पक्षका लागि कारागारमा छन् । धरौटी बुझाए राजवंशीलाई भने कारागारबाहिरबाट पूर्पक्ष गर्न दिने अदालतको आदेश छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =