शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयो : श्याम घिमिरे

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गरेका छन् ।
बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको हो ।
सोही क्रममा बोल्दै प्रमुख सचेतक घिमिरेले समितिकै सांसदहरुले आफूलाई समितिमा आउँदा कसैको चाहनामा स्वार्थकेन्द्रित भएर समिति आयो भन्दै अभिव्यक्ति दिएको बताए ।
विधेयक रोक्ने कुनियतका रुपमा अपव्याख्या गर्ने काम भएको उनको भनाइ छ । त्यसमा आफ्नो कुनै आपत्ति नरहेको उनले बताए ।
प्रमुख सचेतक घिमिरेले निजी विद्यालयका कारण सार्वजनिक विद्यालय बिग्रिए भन्ने कोणबाट धारणा बनाइएको बताए । आफू बिग्रिनुको कारण अर्को सप्रिनु नभएको बताए । आफ्नो कामजोरी औंल्याएर अघि बढ्न जरुरी रहेको बताए ।








