विकास आयोजनाको सुस्तता तोड्न ‘अनलाइन निगरानी’, शहरी मन्त्रालयमा चौबिसै घण्टे ‘मनिटरिङ रुम’

काठमाडौँ । विकास आयोजनामा देखिँदै आएको सुस्तता र ढिलासुस्तीलाई अन्त्य गर्ने लक्ष्यसहित शहरी विकास मन्त्रालयले ठूला आयोजनाको प्रभावकारी निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ । प्राथमिकतामा परेका आयोजनाहरूको चौबिसै घण्टा प्रत्यक्ष अनुगमन गर्न सकिने उक्त कक्षको बिहीवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गरे ।
उक्त कक्षबाट मन्त्रालयका अधिकारीहरूले आयोजना प्रमुखसँग प्रत्यक्ष भिडियो संवाद र छलफल गर्न सक्नेछन् । कार्यक्रममा बोल्दै मन्त्री सिंहले अनलाइन अनुगमन प्रणालीले समय र खर्चको बचत गर्नुका साथै आयोजना निर्माणमा देखिने समस्याको तत्काल पहिचान गरी समाधान गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले विकास निर्माणका कामलाई गति दिन यो कक्षले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
“प्रविधिको अधिकतम सदुपयोग गरेर विकास निर्माणका कामलाई तीव्रताका साथ सम्पन्न गर्न हामीले यस्ता उपकरणको प्रयोग गर्न जान्नुपर्छ,” मन्त्री सिंहले भने, “यो अनलाइन अनुगमनले समय तथा खर्च बचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या तत्काल समाधान गर्न सहयोग पुग्नेछ । नेपालमा विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न नहुने समस्या समाधान गर्न यसले महत्त्वपूर्ण सहयोग गर्ने हाम्रो विश्वास छ ।”
तत्कालका लागि यो कक्षबाट कीर्तिपुरस्थित क्रिकेट रंगशाला र नवलपुर जिल्ला सदरमुकामको आयोजना निगरानी सुरु गरिएको छ । आगामी दिनमा मन्त्रालय मातहतका सबै प्राथमिकता प्राप्त आयोजनालाई यही प्रणालीमा जोड्दै लगिने मन्त्री सिंहले बताए ।
मन्त्रालयले अनलाइनबाट निगरानी गरिए पनि परम्परागत रूपमा आयोजना स्थलमै पुगेर गरिने भौतिक अनुगमनको कार्यलाई पनि निरन्तरता दिइने स्पष्ट पारेको छ ।








