विद्यालय बन्द गर्न नपाइने व्यवस्था कानुनमै राख्न सांसद श्रेष्ठको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कुनै पनि बहानामा विद्यालय तथा विश्वविद्यालय बन्द गर्न नपाइने व्यवस्थालाई शिक्षा विधेयकमा नै समावेश गर्न माग गरेकी छन् । उनले शैक्षिक संस्था बन्द गर्नु विद्यार्थीको मौलिक हकको हनन भएको बताइन् । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
उनले शिक्षकहरूलाई बन्द हड्ताल गर्न नपाइने व्यवस्था गरिए जस्तै यो नियम निजी विद्यालय लगायत सबैका लागि लागू हुनुपर्नेमा जोड दिइन् । ‘विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस्,’ उनले भनिन्, ‘विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न पाउँदैन । विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले गर्न पाउँदैन, जुनसुकै कारण भएपनि ।’
उनले विधेयकमा शिक्षकको हकमा मात्रै बन्द हड्ताल गर्न नपाउने भनेर लेखिएको तर त्यो प्रावधान निजी क्षेत्रका लागि पनि उत्तिकै आवश्यक रहेको बताइन् । ‘त्यो हामीले शिक्षकहरुको हकमा बन्द हड्ताल गर्न पाउँदैन भनेर लेखेका छौँ । तर हामीले त्यो कुरा निजीको लागि पनि लेख्नुपर्नेछ । विद्यालयहरु कुनैपनि बहानामा बन्द गरिनुहुँदैन,’ उनले थपिन् ।
सांसद श्रेष्ठले तोकिएबमोजिम सबैले अनिवार्य तथा निःशुल्क शिक्षा पाउनुपर्ने कुरालाई पनि सुनिश्चित गर्नुपर्ने बताइन् ।








