निजी विद्यालय गैरनाफामुलक भए शिक्षाको स्तर झनै खस्किन्छ : सांसद जैसवाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधानले नेपालको शैक्षिक गुणस्तरलाई थप खस्काउने चेतावनी दिएकी छन् । उनले नाफा आर्जन गर्न नपाए निजी विद्यालयहरूले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्ने तर्क गरिन् ।
बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले कम्पनी ऐनअनुसार सञ्चालन भइरहेका विद्यालयलाई गैरनाफामुलक बनाउन खोज्नु अव्यावहारिक भएको बताइन् । ‘निजी विद्यालय भन्ने बित्तिकै कम्पनी एक्टअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई कसरी गैरनाफामुलक बनाउने हुनसक्छ ?’ उनले प्रश्न गरिन् ।
लगानीकर्ताले ऋण लिएर, जग्गा बेचेर व्यवसायको रूपमा विद्यालय सञ्चालन गरिरहेको अवस्थामा नाफाको अपेक्षा गर्नु स्वाभाविक भएको उनको भनाइ थियो । ‘जब निजी स्कुलहरुले लगानी गरेर, लोन लिएर, जग्गा बेचेर एउटा बिजनेसको तवरमा लगिरहेको छ भने त्यसको पार्ट अफ द प्रफिट त आउनुपर्यो । नत्र सञ्चालन कसरी गर्ने ?’ उनले भनिन् ।
सांसद जैसवालले गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक संरचना र पाठ्यक्रम निर्माण गर्न पनि नाफा आवश्यक पर्नेमा जोड दिइन् । ‘अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन त्यसअनुसारकै भौतिक संरचना, करिकुलमहरु हुनुपर्छ,’ उनले भनिन्, ‘नाफा कमाएनन् भने त्यस स्तरको शिक्षा दिन पनि गाह्रो हुन्छ ।’ उनले शिक्षालाई केवल सेवामूलक क्षेत्रका रूपमा मात्रै हेर्न नहुने धारणा राखिन् ।








