शिक्षा विधेयकमा देशकै नजर छ, अविलम्ब पारित गरौँ : सांसद हजारा

काठमाडौं । नेकपा एमालेका सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा सिंगो देशको नजर रहेको भन्दै यसलाई छिटोभन्दा छिटो पारित गर्नुपर्नेमा जोड दिएका छन् । उनले ५२ वर्षपछि आएको यो महत्त्वपूर्ण विधेयकलाई अब थप ढिलाइ गर्न नहुने बताएका हुन् ।
बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विधेयकमाथि समितिमा घनिभूत छलफल भइसकेको र अब यो अन्तिम चरणमा पुगेको जानकारी दिए । विभिन्न सरोकारवालाहरूको गहिरो चासो रहेको यस विधेयकलाई अविलम्ब टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो । ‘विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि हाम्रो समितिमा आइसकेपछि घनिभूत ढंगले छलफल गरेका छौँ,’ उनले भने, ‘हामी अन्तिम चरणमा पुगेका छौँ । देशकै नजर शिक्षा विधेयकमा रहेको छ ।’
विधेयकका केही प्रावधानमाथि सुझाव दिँदै सांसद हजाराले प्रारम्भिक बालविकास परिषद्को गठनमा योग्यता ‘कक्षा १२’ भन्दा ‘कक्षा १०’ नै राख्नु बढी सुहाउँदो हुने तर्क गरे । साथै, विद्यालय व्यवस्थापन समितिमा ‘समावेशी’ भन्ने शब्द मात्रले नपुग्ने भन्दै महिलासँगै ‘दलित’ शब्दलाई स्पष्ट रूपमा किटान गर्नुपर्नेमा उनले जोड दिए । ‘विद्यालय व्यवस्थापन समितिमा महिला र दलितलाई भनिएको थियो, यहाँ दलित शब्द छुटेको छ,’ उनले भने, ‘समावेशी मात्रै भनेपछि समस्या आउँछ । शब्द नै आउनुपर्छ ।’ उनले आवासीय छात्रवृत्तिको विषयलाई पनि विधेयकमा समेट्नुपर्ने बताए ।








