भैरहवा कारागारमा मलाई गोलघरमा जसरी राखिएको थियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भैरहवा कारागारमा रहँदा धेरै ठूलो पीडा भोगेको गुनासो गरेका छन् ।
बुधबार नख्खु कारागारमा उनलाई भेट्न गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले यस्ताे गुनासाे गरेका हुन् ।
प्रचण्डका अनुसार, लामिछानेले भैरहवा कारागारको अवस्थालाई गोलघरजस्तै भएको टिप्पणी गरेका थिए । ‘उहाँको भैरहवा बस्दाको स्थिति धेरै जटिल थियो । उहाँको भाषामा भन्ने हो भने, झन्डै झन्डै गोलघरजस्तै गरी राखियो भन्ने थियो,’ रविलाई भेटेर निस्किएपछि सञ्चारकर्मीहरूसँग प्रचण्डले भने ।
उनले थपे, ‘धेरै ठूलो पीडामा भएँ म भन्ने थियो । सामान्यतः यहाँको (नख्खु कारागारको) बसाइ, खानपिन सबै भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर प्रशंसा पनि गर्नुभयो ।’
प्रचण्डले लामिछानेसँगको भेटलाई व्यक्तिगत र कर्तव्यबोध दुवै ठानेका छन् । ‘मेरो क्याबिनेटमा उहाँ दुई पटक गृहमन्त्री हुनुहुन्थ्यो । अभिभावकको हैसियतले पनि उहाँको अवस्थाबारे बुझ्नुपर्ने ठानेर भेट्न आएको हुँ,’ उनले भने ।
उनले भैरहवा कारागारमै पुग्न चाहेको भए पनि समय नमिलेर त्यहाँ जान नसकेको स्पष्ट गरे ।








