महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको हो : परराष्ट्रमन्त्री देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली महिलाहरूको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घद्वारा आज आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उनले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हाँसिला भएको बताएका हो । ‘महिलाले महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेका छन् । त्यो सबै नेपाली महिलाहरूले गरेको सङ्घर्षकै उपलब्धि हो’, उनले भनिन् ।

मन्त्री डा राणाले नेपाली कांग्रेसकै महिला नेतृहरू मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाको योगदानको स्मरण गर्दै उनीहरु र अरु महिला नेतृहरूको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट पारिन् ।

उनले वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै सङ्घर्ष गर्न बाँकी रहेको बताइन् । उनले वि.सं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रही आएको स्मरण गरिन् ।

‘अग्रजहरूकै प्रेरणाबाट हामी महिला अधिकारको सङ्घर्षमा लाग्यौँ र वर्तमान संविधान र नेपालका विद्यमान कानुनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौँ’, उनले भनिन् ।

वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसद्मा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक भएको उनको भनाइ थियो । नेपाली कांग्रेसकी नेतृ डा राणाले यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यावहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गरिन् ।

महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि संविधान लेख्ने बेलामा आफूहरूले निकै सङ्घर्ष गर्नुपरेको मन्त्री राणाले स्मरण गरिन् ।

उनले महिलालाई राजनीतिमा सजिलो नरहेको बताइन् । उनले भनिन्, ‘हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हाबी नै छ । महिलालाई राजनीतिमा सजिलो छैन । त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लड्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीहरूलाई जागरूक गर्यौँ, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पार्यौँ ।’

उनले नेपालमा मात्र नभएर विश्वका अरु देशहरूमा महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरूले सुनाउने गरेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =