सार्वजनिक जग्गा अतिक्रमणमा ठुलाबडा नै संलग्न : प्राधिकरण

काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक, नदी किनारका जग्गा अतिक्रमणमा नाम चलेका व्यक्तिहरू नै संलग्न रहेको पाइएको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

बुधवार आयोजित पत्रकार सम्मेलनका प्राधिकरणको काडमाडौं जिल्ला आयुक्त शुभाष बस्नेतले उच्चपदस्थ व्यक्ति तथा नाम चलेका विद्यालयहरूले सार्वजनिक जग्गा अतिक्रमण गरेको जानकारी दिए । उनले काठमाडौँमा कम्तीमा पनि एक लाख रोपनी भन्दा धेरै जग्गा अतिक्रमण भएको बताए ।

२०२१, २०४४ र २०५६ को नापीलाई अध्ययन गर्दा धोबी खोलामा मात्रै २ सय रोपनी जग्गा अतिक्रमण भएको उनले जानकारी दिए । तीन चरणको नापीलाई अध्ययन गर्दा ३ हजार रोपनी नदी किनारका मात्रै अतिक्रमण गरिएको उनको भनाई छ । ती जग्गाहरू अहिले व्यक्तिले आफ्नो नाममा दर्ता गरिसकेको स्थिति रहेको उनले बताए ।

तिलगंगादेखि चोभारसम्म १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको उनको भनाई छ । ती सबै जग्गाहरू झुपडीवालाले नभई ठूलाठूला व्यक्ति, नाम चलेको स्कुल र विश्वास गर्न नै नसक्ने मान्छेले कब्जा गरेर बसेको उनले बताए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गर्नेको सम्पत्ति रोक्का गर्ने काम सुरु गरेको पनि उनले जानकारी दिए । प्राधिकरणलाई जग्गा रोक्नसक्ने अधिकार रहेको उनले बताए । उनले माधव खोलामा सार्वजनिक जग्गा मिचेर आफ्नो कम्पाउन्डभित्र लगेकाहरूको प्राधिकरणले सम्पत्ति रोक्का गरिसकेको जानकारी दिए ।

उनले भने ‘काठमाडौँ यति धेरै जग्गा अतिक्रमण भएको छ । मलाई त लाग्छ कम्तीमा एक लाख रोपनी जग्गा अतिक्रमण छ । हामी २०२१ सालको नापीमा जाऊँ, २०४४ सालको नापीमा जाऊँ र २०५६ सालको नापीलाई हेरेर डाटा निकाल्ने हो भने धोबी खोलाको २०० रोपनी जग्गा अतिक्रमण गरेको मसँग डाटा छ । तीन चरणको नापीलाई हेर्ने हो भने कम्तीमा ३ हजार रोपनी नदीका सार्वजनिक जग्गा अतिक्रमण भएको छ र मानिसहरूले अहिले दर्ता गरेर खाएको स्थिति छ । तिलगंगादेखि चोभारसम्म गयौँ भने १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको छ । त्यो सानो झुपडीवालाले होइन, ठुलठुलाले, नाम चलेको स्कुलले । कसैलाई यो मान्छेले यस्तो गर्छ भन्ने विश्वास नै नलाग्ने स्थिति पनि छ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेको सम्पत्ति रोक्का गर्नसक्ने अधिकार काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई छ । यो मैले सुरुवात गरिसकेको छु । माधव खोलामा जसले सार्वजनिक जग्गा मिचेर जसले आफ्नो कम्पाउन्ड भित्र लगेका छन् । उहाँहरूको मैले सम्पत्ति रोक्का गरिसकेको छु ।’

उनले चैत ३ गतेदेखि अवैध प्लटिङ्गलाई कित्ताकाट रोक्का गरेको जानकारी दिए । हाल १ हजार १५० कित्ता अवैध प्लटिङ्ग रोक्का भएको उनको भनाई छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =