खाली कागजमा हस्ताक्षर गर्ने कस्ता सांसद ? थापाको जवाफ– मण्डलेहरुको गालीगलौज स्वीकार्य छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले उपसभामुखविरुद्ध अविश्वास प्रश्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरेको भन्दै सत्तारुढ दलहरुप्रति कटाक्ष गरेपछि नेकपा (एमाले)का सांसद सूर्य थापाले नियमापत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद कार्कीले एमाले र काँग्रेसका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर नाटक रचिएको टिप्पणी गरेपछि सांसद थापाले आपत्ति जनाएका हुन् ।
सांसद कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाइन् । उनले ‘संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन कस्तो पार्टी ? कस्ता सांसद धिक्कार होस्’ भन्ने टिप्पणी गरिन् । ‘हिजो दिनभरी नौटंकी देखियो । एमाले र नेपाली काँग्रेसहरुले आफ्ना माननीयज्युहरुलाई खाली काजगमा हस्ताक्षर गरेको भन्ने खबर सुनियो । यो केका लागि त ? यो किन त भन्दा उपसभामुखलाई अविश्वसाको प्रश्तावमार्फत हटाउन रे । उहाँहरुलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पु¥याएर आफ्ना आसेपासेहरुलाई नियुक्ति गर्नको निम्ति उपसभामुखमाथि महाअभियोग लगाउने कुराहरु त्यहाँ चल्यो । सही गराउने कस्तो पार्टी, सांसदहरु कस्ता ? धिक्कार होस्’ उनले भनिन् ।
लगत्तै सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्दहरु स्वीकार्य नहुने बताए ।
उनले मण्डलेहरुसँग लामो समयसम्म लडेर आफूहरु आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन आग्रह समेत गरे ।








