आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण तिरिसक्ने योजना

काठमाडौँ । आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋण तिरिसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को योजना प्राधिकरणले बनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी दुवै विमानस्थलको ऋण तिर्न क्यान समक्ष रहेको बताए ।
उनकाअनुसार २०३२ सालदेखि पोखरामा विमानस्थल बनाउने भनेर जग्गा अधिग्रहण गरिएको थियो । अहिले पूर्णरुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूरा भएको छ । विमानस्थल बनाउनका लागि लिइएको १३ अर्ब ऋण तिर्न क्यान समक्ष छ । दुई वटा किस्ता ऋण क्यानले तिरिसकेको छ । अरू पनि समयमै तिर्दै जाने योजना छ ।
उनकाअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कमाइबाट ऋण तिर्न कठिन हुनेछ । तर देशभरका विमानस्थल अहिले पनि राम्रो अवस्थामा चलिरहेका छन् । जसकारण क्यानको आम्दानी राम्रो छ, सोही पुँजीबाटै ऋण तिरिनेछ । कुनै विमानस्थले कमाउने र उसैले खाने भन्ने हुँदैन, सबै एयरपोर्टको अड्डा क्यान भएकाले ती एयरपोर्टहरूको कमाइबाट क्यानले ऋण तिर्ने योजना बनाएको छ ।
समग्र अर्थतन्त्र चलायमान हुन नसक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई असर परेको अधिकारी बत्ताउँछन् । उनकाअनुसार भौतिक संरचना भव्य बनेकाले आगामी दिनमा उक्त विमानस्थल प्रभावकारी हिसाबले चल्नसक्ने र राम्रो कमाउन सक्नेछ ।
महानिर्देशक अधिकारीकाअनुसार भैरहवाको त्यति ठुलो ऋण छैन । ६ अर्बको प्रोजेक्ट हो । भैरहवा र पोखराको गरी एक दशकमा ऋण तिरिसक्ने योजना छ । विशाल पूर्वाधार बनेकाले त्यसको उपयोग गर्न जरुरी छ । हिजोका दिनमा ४ बजे पोखरा विमानस्थल बन्द हुने गर्थ्यो, अहिले राति, बिहान विमानस्थल सुचारु हुने गरेको छ । ४ लाख यात्रुहरू रहेकोमा अहिले वार्षिक ११ लाख यात्रुले उक्त विमानस्थल प्रयोग गरेका छन् ।
उनकाअनुसार पोखरा विमानस्थलबाट पूर्ण क्षमतामा जहाजहरू उड्न सक्छन् । कतिपयले पोखरा विमानस्थललाई चिनियाँ परियोजना बिआरआई अन्तर्गतको पोखरा विमानस्थल भनेकोप्रति अधिकारीले त्यसको खण्डन गरेका छन् । पोखरा विमानस्थलको योजना सुरु भएको सन् २०१२ हो । बिआरआई कार्यान्वयन सन् २०१७ बाट सुरु भएकाले पनि यो बिआरआई अन्तर्गत परियोजना नरहेको अधिकारीको भनाई छ ।
सार्वजनिक लेखा समितिको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणमा भ्रष्टाचार भएको भन्दै आफ्नो प्रतिवेदन बुझाएको थियो ।
उप–समितिले लागत १५ अर्बबाट २२ अर्ब पुगेको, रन–वे दबाएको, माटोको बिलमा हेरफेर गरेको, इन्धन डिपो नबनाएको तथा रिठ्ठेपानी डाँडा बढी काटेको जस्ता आरोप लगाएको थियो । समितिले विमानस्थल निर्माणको लागत १४ अर्बबाट २२ अर्ब बनाएर भ्रष्टाचार गरेको, रिठ्ठेपानी डाँडाकटान लगायतका कार्य विमानस्थल आयोजनाले नगरी सरकारले छुट्टै बजेट विनियोजन गरी निर्माण गरेको, सरकारलाई तिर्नुपर्ने २ अर्ब २२ करोड बढी कर छुट दिएको, विमानस्थलको रनवे निर्माण, माटो निकासी लगायतका कार्यमा भ्रष्टाचार भएको आरोप लगाएको थियो ।
उक्त समिति कुण्ठाबाट ग्रसित भएर आफूलाई दोषी देखाएर प्रतिवेदन बनाएको बताउँदै महानिर्देशक अधिकारीले भ्रष्टाचार भएको प्रमाणित गर्न चुनौती दिएका छन् । उनले पोखरा विमानस्थललाई लिएर सिंगो देशलाई नै बदनाम गर्ने षड्यन्त्र भएको बताए ।
पोखरामा पत्रकारहरूसँगको विशेष भेटघाटमा महानिर्देशक अधिकारीले भने ‘पोखरा विमानस्थललाई गर्वका रूपमा लिनुपर्छ । कमी, कमजोरी भएको छ भने राज्यका निकायहरू छन् तिनीहरूले छानबिन गर्ला । तर जो मान्छेले काम गरेको छ । पोखरा विमानस्थलको जग्गा अधिग्रहणमा मलाई डेढ महिना पुलिसले सुरक्षा दिएर राखेको थियो । त्यति धेरै ज्यान फालेर विमानस्थल बनाएको मान्छेलाई यो दिन ९भ्रष्टाचार० को आरोपको सामना गर्नुपरेको छ । जसरी प्रचारप्रसार गरिएको छ । कुनैपनि कागजातले, कुनैपनि नेपालको कानुनले प्रमाणित हुँदैन । यो मेरो दाबी हो । ममाथि हावादारी, आधारिहन, कुण्ठामा आधारित भएर पोखरा विमानस्थलको बदनाम गर्ने षड्यन्त्र हो । यो षड्यन्त्रको सबै मिलेर सामना गर्नुपर्छ ।’
उनकाअनुसार संसदीय उपसमितिले १५ अर्बको आयोजना २२ अर्ब रुपैयाँको कसरी बन्यो भन्ने विषयमा तथ्य नै हेरेको छैन । नेपाल सरकार र चीन सरकारबाट २२ अर्ब रुपैयाँ ठिक भनेको समितिले त्यहीअनुसार ऋण सम्झौता भएको र त्यो पैसा बराबरको काम भयो कि भएन भनेर नहेर्नु नै गल्ती भएको छ ।
अधिकारीकाअनुसार १५ अर्ब रुपैयाँ भ्रष्टाचार हुनलाई चीनबाट नेपालमा पैसा ल्याएर बाँड्न सम्भव नरहेको बताए । यदि चीनबाट बोराको बोरा पैसा ल्याएको आफूले बाँडेको भए कसैको खातामा आएको छ भनेर देखाउन समितिलाई चुनौती नै दिए ।
पोखरा विमानस्थलभित्र ह्याङ्गरदेखि युरोपेली ब्राण्डका फाइर भेइकल
ठुलो लगानीमा बनाइएको पोखरा विमानस्थलभित्र ह्याङगरदेखि युरोपेली ब्रण्डका फाइर भेइकल रहेका छन् । उक्त ह्याङगरमा प्लेन मर्मत सम्भार गर्ने गरिएको छ । त्यहाँ मर्मत सम्भार गर्दा एयरलाइन्स कम्पनीहरूले छुट्टै रकम तिर्ने गरेको अधिकारीले बताए ।
पोखरा एयरपोर्टसँग १४ वटा भवन नयाँ रहेको छ । विमानस्थलमा फायर भेकलहरु युरोपेली ब्राण्डका रहेका छन् । अमेरिकी ब्राण्डको दमकल मात्रै रहेको बताए । दमकलदेखि ह्याङगरसम्मका सबै पूर्वाधार २२ अर्बमा तयार भएको अधिकारीले जानकारी दिए । ह्याङ्गर सबै विमानस्थलमा हुनुपर्ने अहिले सबैतिर नभए पनि पोखरामा व्यवस्थित गरिएको उनको भनाई छ । न्यारोबडी जहाजहरू मर्मत गर्न परे विदेश जान नपर्ने अवस्था पोखरामा बनेको ह्याङ्गरले सिर्जना गरेको अधिकारीको भनाई छ ।
अधिकारीकाअनुसार पोखरा विमानस्थलमा आयल निगमलाई सेवा शुल्क नियमावली बमोजिम जग्गा भाडामा दिएर ट्याक्की निर्माण गरेको छ । आफ्नै तरिकाको टावरदेखि निगमले अत्याधुनिक संरचनाहरू बनाएको छ । जुन आयाल निगमले आफ्नै खर्चमा संरचनाहरू बनाएको हो । भैरहवामा समेत आयाल निगमले विमानस्थलको जग्गा भाडामा लिएर त्यस्तै खालको संरचना बनाएको छ ।
उनकाअनुसार विमानस्थलको रनवे निर्माण गर्दा माटोले पुरिएको हो । पोखरा एयरपोर्ट कटिङ छ की फिलिङ छ त्यस्तो वास्तविकता नबुझी संसदीय समितिले हचुवामा प्रतिवेदन बनाएको उनको भनाइ छ ।








