सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने आँकलन : चन्द्रप्रसाद ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने आँकलन गरिएको बताएका छन् ।
नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा मङ्गलवारदेखि सुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको विक्री नै ४० प्रतिशत बढ्ने आँकलन गरिएको उनले बताए । यसले बजारमा सुधारको संकेत दिएको उनको भनाई छ । पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्रको लागि सुखद् नरहे पनि गत वर्षदेखि निजी क्षेत्रको लागि उत्साह थपिँदै गएको उनले बताए ।
उनले सरकारले अवलम्बन गरेका नीतिगत कारणहरूले गर्दा निजी क्षेत्र चलायमान हुन थालेको बताए । सरकारले निजी क्षेत्रको सुझाव अनुसार ३० भन्दा बढी कानुनको सुधार गरेको उनको भनाई छ । उनले सुधार गरिएको ऐन अनुसार नियममावली बनाउन आवश्यक रहेको पनि बताए । बजेट र मौद्रिक नीति पनि निजी क्षेत्रको सुझावअनुसार नै आएको उनले जानकारी दिए ।
बैंकमा प्रशस्त लगानीयोग्य रकम भएको, ब्याजदर एकल अंकमा रहेको र कानुन पनि निजी क्षेत्रमैत्री रहेको कारण लगानीको लागि योग्य वातावरण बनेको बताए । अध्यक्ष ढकालले सवारी साधनको लागि सरकारले लागू युरो ६ मापदण्ड सकारात्मक रहेपनि केही समय होल्ड गर्न आग्रह गरे । युरो ६ मापदण्ड लागू गर्ने निर्णय एकाएक भएकोले कतिपय व्यवसायीहरू समस्यामा परेको उनले बताए ।
अर्डरमा पठाइसकेका, उत्पादन भइसकेका र एलसी खोल्न बाँकी भएका कतिपय उत्पादकहरूको नेपालकै लागि बनाइएको सवारीसाधनहरू अलपत्र बनेको उनको भनाई छ । यसको लागि छोटो समय दिएर अर्डर भइसकेका सवारी साधनहरू ल्याउन दिनुपर्ने उनको माग छ ।
उनले भने ‘पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्रको लागि सुखद् रहन सकेन । बजारमा न्यून मागका कारण उत्पादन र उत्पादकत्व पनि न्यून भएर गएको थियो । तर गत वर्षदेखि भने निजी क्षेत्रको लागि उत्साह थपिँदै भएको छ । बजारमा माग बिस्तारै बढ्न गएको छ । दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको विक्री नै ४० प्रतिशत बढ्ने आकलन आईरहको छ । यसले बजारमा सुधारको संकेत दिएको छ । यसमा हामी सबैको प्रयत्न समेत छ । सरकारले सवारी साधनको लागि युरो ६ मापदण्ड लागू गरेको छ । जुन चाहिँ सकारात्मक पनि छ । तर यो लागू गर्दाखेरि एकाएक निर्णय भएको कारणबाट कतिपय अर्डरमा पठाइसकेको, प्रोडक्सन भइसकेको र एलसी खोल्न बाँकी भएका कतिपय उत्पादकहरूको नेपाल कै लागी बनाइएको सवारीसाधनहरू यो निर्णयले रोकिएको अवस्था छ । यो चिजलाई एकपटकलाई एउटा छोटो समय दिएर यसलाई अगाडी बढाउन सकियो भने त्यो उत्पादक, त्यो देशहरूसँग हामीहरूले गरेको व्यापारमा पनि सहज हुनेछ ।’
उनले नेपालको अर्थतन्त्रमा अटोमोबाईल्स क्षेत्रले महत्त्वपूर्ण योगदान रहेको पनि बताए ।








