सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन गर्न सुदन किराँतीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन हुनुपर्ने माग गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानविन पुनः गर्न जरुरी रहेको बताए ।
चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानविन हुनुपर्ने उनको भनाइ छ । प्रतिवेदनमा प्राविधिक त्रुटी के भयो भन्ने मात्रै उल्लेख भएको तर के गर्नु हुँदैन थियो भन्नेकुरा उल्लेख नगरिएको बताए ।
एक महिनाअघिदेखि ग्राउण्डेट जहाँजमा को मान्छे लैजानु हुँदैन थियो भन्नेकुरा नै उल्लेख नरहेको उनको भनाइ छ ।
संरचनागत र नीतिगत सुधारका लागि मन्त्री आफैँ लागेको बेला यो लापरवाहीपूर्ण प्रतिवेदनलाई छोड्दा देशले न्याय नपाउने जिकिर गरे ।
सांसद किराँतीले जहाँजको ढोका राम्रोसँग लाग्दैन भन्दा एक पटक गएर आउ अनि बनाउँला भन्ने किसिमको लापरवाही हुने गरेको बताए ।








