गौर नरसंहारको घाउ कोट्याइँदा उपेन्द्र यादवले देखाए दरबार र दासढुंगाको रहस्य (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो ? भन्दै प्रश्न गरेका छन् । नेपालका कतिपय घटना रहस्यमय तरिकाले भएको उनको भनाइ छ । दरबार हत्याकाण्ड, दासढुंगा काण्ड कसले गरायो? भन्ने प्रश्न अझै अनुत्तरित रहेको उनको भनाइ छ ।
देशको राष्ट्रप्रमुख, दरबारको सुरक्षाभित्र दरबार हत्याकाण्ड कसरी भयो? जनताले जान्न चाहेको उनले बताए । नेपालमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएको घटना हुने गरेको उनले बताए । अध्यक्ष यादवले अनुमानका आधारमा कसैले कसैमाथि आरोप लगाउन नहुने बताए । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ छ । उनले सो घटनाको अनुसन्धान भइसकेको पनि दाबी गरे । एउटा होइन, चार-चार वटा संस्थाले अनुसन्धान गरेको उनले बताए । राष्ट्रसंघीय संस्थाले समेत आएर अनुसन्धान गरी प्रतिवेदन दिएको उनले जानकारी दिए ।
उनले भने, ‘कतिपय कुरा नेपालमा रहस्यमय छन् । दरबार हत्याकाण्ड कसले गरायो? दासढुंगा काण्ड कसले गरायो? धेरै कुरा के छन् त भन्दा अझै पनि अज्ञात नै छन् । धेरै कुरा थाहा नभइसकेको अवस्था पनि छ । देशको राष्ट्रप्रमुख, त्यो पनि त्यत्रो सुरक्षाभित्र घटना घट्यो, कसरी घट्यो, कसले घटायो? यो मुलुकमा कसैले सोच्दै नसोचेको, चिताउँदै नचिताएको कुरा पनि हुँदा रहेछन् । अनुमानका आधारमा कसैले कसैमाथि आरोप लगाउन त सजिलो कुरा हो । तर त्यसको अनुसन्धान त भइसकेको छ नि । एउटा होइन, चार-चार वटा राष्ट्रसंघीय संस्थाले समेत आएर अनुसन्धान गरिसके, प्रतिवेदन दिइसके । यो कुनै नयाँ कुरा त होइन ।’
गौरमा माओवादीका छापामारले आक्रमण गर्दा आफ्नो पार्टीका मान्छे त्यहाँ नरहेको उनको दाबी छ । त्यहाँ बीसौं हजार गाउँका जनता मात्रै भएको उनले बताए । त्यसबेला माओवादीप्रति जनता आक्रोशित भएकाले पनि उक्त घटना भएको हुनसक्ने अध्यक्ष यादवको भनाइ छ । माओवादीले अपहरण गर्ने, फिरौती माग्ने जस्ता कार्य गर्ने गरेका कारण त्यसको प्रतिक्रियास्वरूप उक्त घटना भएको हुनसक्ने उनले बताए । अध्यक्ष यादवले उक्त घटनाको ओएचसीएचआर, मानवअधिकार आयोग र स्वयं न्यायिक अनुसन्धान भएको बताए । पाटनको पुनरावेदन अदालतका मुख्य न्यायाधीशको संयोजकत्वमा बनेको न्यायिक छानबिन आयोगले पनि छानबिन गरेर त्यो कुराको पुष्टि गरेको उनको दाबी छ । राजनीतिमा प्रतिशोध साँध्न, कुनै मुद्दालाई दबाउने कुराका लागि प्रयोग गर्ने हो भने त्यो बेग्लै कुरा भएको उनले बताए ।
उनले भने, ‘त्यहाँ माओवादीका छापामारले आक्रमण गर्दा त हाम्रा मान्छे भागिसकेका थिए । उनीहरू हतियारसहित थिए, हाम्रा मान्छेसँग केही थिएन । तर बीसौं हजार जनता गाउँका थिए । फेरि त्यो बेलामा के थियो भने माओवादीप्रति जनता आक्रोशित थिए । अपहरण, फिरौती, विभिन्न कुरा चलेका थिए, त्यो बेलामा । मलाई लाग्छ, त्यहाँ त्यसको प्रतिक्रिया पनि भएको हुनसक्छ । त्यो कुरा चाहिँ मैले मात्रै होइन ओएचसीएचआरले, मानवअधिकार आयोगले र स्वयं न्यायिक अनुसन्धान भएको हो नि त । पाटनको पुनरावेदन अदालतका मुख्य न्यायाधीशको संयोजकत्वमा बनेको न्यायिक छानबिन आयोगले पनि छानबिन गरेर त्यो कुराको पुष्टि गरिसकेको हो । तर के हो भने राजनीतिमा प्रतिशोध साँध्न, कुनै मुद्दालाई दबाउने कुराका लागि प्रयोग गर्ने हो भने त त्यो बेग्लै कुरा हो ।’
गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमबार) आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो । २०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँमा कार्यक्रम आयोजना गरेका थिए ।








