अनुशासन आयोगले सह-संयोजक राईलाई सोध्यो स्पष्टीकरण, मुछियो सम्मानित नेता खनालको नाम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट भ्रातृ संगठन युवा संघ नेपालभित्रको आन्तरिक कलह चुलिएको छ । संगठनको केन्द्रीय अनुशासन आयोगले सह-संयोजक सञ्जीव राईलाई संगठनको विधान र निर्णयविपरीत गतिविधि सञ्चालन गरेको भन्दै लिखित स्पष्टीकरण सोधेको छ । आयोगका अध्यक्ष विकल के.सी.ले शनिबार एक पत्र जारी गर्दै राईलाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएका हुन् ।
पत्रअनुसार, गत चैत १७ गते तत्कालीन इन्चार्ज लक्ष्मण के.सी.को सिफारिसमा गठित राष्ट्रिय महाधिवेशन आयोजक समितिमा राईलाई सह-संयोजकको जिम्मेवारी दिइएको थियो । तर, भाद्र १ गते बसेको पदाधिकारी तथा केन्द्रीय कार्यालयको बैठकले नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष के.सी.कै अध्यक्षतामा नयाँ महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ ।
आयोगले यही आधिकारिक निर्णयविपरीत राईले अनधिकृत रूपमा छुट्टै समानान्तर समिति गठन गरी संघको लोगो, छाप र झण्डाको दुरुपयोग गर्दै अराजनीतिक क्रियाकलाप गरेको आरोप लगाएको छ। पत्रमा भनिएको छ, ‘तोकिएको मितिमा लिखित स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण संघको विधान, स्थापित विधि तथा प्रक्रिया विपरीत भएमा तपाईंलाई आवश्यक कारबाही गरिनेछ ।’
विवादमा पार्टीका सम्मानित नेता झलनाथ खनालको संलग्नता रहेको दाबी छ । खनालले आफ्ना छोरा निर्भीक चित्रकार खनाललाई संगठनमा स्थापित गर्न राईलाई समानान्तर समिति बनाउन लगाएको आरोप छ । समितिमा राईलाई सह-संयोजक र निर्भीकलाई उपाध्यक्ष बनाइएको दाबी गरिएको छ । साथै, राई र खनालबीच व्यावसायिक साझेदारी रहेको र उनीहरू ठेक्का-पट्टामा समेत संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।








