पाँचखालमा ट्रकको ठक्करबाट बाइक चालकको मृत्यु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका-६ केराघारीमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । सिरहाबाट पाँचखालतर्फ आउँदै गरेको ना७ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा९३प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा काभ्रेको चौरीदेउराली गाउँपालिका-८ निवासी अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेका अनुसार, बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो ।
अस्पतालले उनलाई मृत घोषणा गरेको पाँचखाल प्रहरी चौकीका प्रमुख, प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको अरनिको राजमार्ग हाल पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।








