उपसभामुखले अमेरिकाबाट गरिन् शेखर कोइरालालाई फोन

काठमाडौँ । अमेरिका भ्रमणमा रहेकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरी छलफल गरेकी छन् ।
सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा (एमाले) ले उपसभामुखमाथि आचरणको प्रश्न उठाउँदै पदमुक्त गर्न सांसदहरूबाट हस्ताक्षर संकलन थालेपछि राना मगरले कोइरालालाई मंगलबार टेलिफोन सम्पर्क गरेकी हुन् ।
‘मैले शेखर कोइरालाजीलाई फोन गरेको हुँ, उहाँसँग प्रजातन्त्रका लागि लडेको कांग्रेस पार्टीले के गर्न लागेको हो भनेर कुरा गरेको थिएँ,’ उपसभामुख राना मगरले भनिन् ।
नेता कोइरालाले आफू व्यक्तिगत रूपमा उपसभामुखविरुद्धको प्रक्रियामा समर्थन नगरिएको जानकारी गराएको राना मगरले बताइन् । ‘उहाँले मेरो पक्षबाट कुरा गरिराखेको छु भन्नुभयो, मैले उहाँलाई बहुमतको दुरूपयोग गर्न नहुने भनेकी हुँ,’ उनले भनिन् ।
यसअघि पनि गत वर्ष उपसभामुख हटाउने तयारी कांग्रेस–एमालेले गर्दा नेता कोइरालाले त्यसको विरोध गरेका थिए ।
मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उपसभामुख हटाउने प्रस्तावमा सांसदहरूसँग हस्ताक्षर लिने प्रयास भएको थियो ।
तर, शेखर कोइरालानिकट केही सांसदहरूले प्रयोजन नखुलाइएको भन्दै खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।








