जलवायु परिवर्तनको असर घटाउन क्षेत्रीय सहकार्यमा जोड

काठमाडौं । प्रतिनिधिसभाका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर घटाउन क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।

आज हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा उनले क्षेत्रीय स्तरमा सहकार्य भएमा मात्र जलवायुका चुनौती सामना गर्न सकिने बताए ।

‘पछिल्लो समय जलवायु तथा वातावरणको मुद्दामा राजनीतिक दलदेखि सांसदहरूको चासो बढ्दै गएको छ, प्राथमिकताका साथ यी मुद्दाहरूमा बहस सुरु हुनु राम्रो हो,’ उनले भने, ‘पूर्वाधार विकास वातावरणमैत्री बनाएमा दिगो हुन्छ भन्ने आवाज हामी उठाइरहेका छौँ । जलवायुका नीति कार्यान्वयनका लागि सरकारलाई घचघच्याइरहेका छौँ ।’

यसैगरी, प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली र सविता गौतमले जलवायु नीतिलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिए ।

सांसद गौचनले जलवायु परिवर्तनको प्रत्यक्ष असर झेलिरहेका आदिवासी समुदाय, स्थानीय सक्षम कर्ताहरू र युवाको आवाज नीतिगत दस्ताबेजमा समेटिनु जरुरी रहेको बताए ।

उनले भने, ‘मुस्ताङ जस्तो हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण विस्थापन, जीविकोपार्जनको क्षति र जलवायु–शरणार्थी बन्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । यदि हामीले युवाहरू र आदिवासी समुदायको अनुभवलाई जलवायु नीतिमा समावेश गर्न सकेनौँ भने अनुकूलनका कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सक्दैन ।’

अर्का सांसद सविता गौतमले हिन्दूकुश पर्वतीय क्षेत्रमा बस्ने सबै समुदायलाई सुदृढ र दिगो विकासको मार्गमा अघि बढाउन सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने बताइन् । उनले भनिन्, ‘हाम्रो लक्ष्य भनेको जलवायु सङ्कट सामना गरिरहेका निर्दोष समुदायलाई यस्ता सङ्कटबाट बचाउन पहल गर्नु हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =