‘ओली १४ वर्ष कालकोठीमा बस्नुभयो, चोर हुने, अहिले ठगै चाहिँ असल हुने ?’

काठमाडौँ । नेपाली काँग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने भन्दै टिप्पणी गरेका छन् ।
सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले नेकपा एमाले र काँग्रेसलाई सबै दोष लगाएर म नै राम्रो हुँ भन्ने पार्टीहरू विकास भएको बताए । उनले नेपालमा कुनै पार्टी र राजनीतिक नेतृत्व पानी माथिको ओभानो नरहेको उनको टिप्पणी छ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि तिनीहरू चोर हुने, अहिले ठगै चाहिँ असल हुने ? भन्दै प्रश्न गरे ।
उनले भने ‘एउटा काँग्रेस र एमालेलाई मात्रै दोष लगाएर सबै राम्रो हुँ भन्छन् । यो चाहिँ पार्टी गतिलो छ भनेर कुन चाहिँ छ उदाहरण दिनुस् न । व्यक्ति पनि एउटाको उदाहरण दिनुस् । जेल भनेको त ससुराली गएको होइन नि । ढोका टालेको छ, झ्याल टालेको छ । जेल त हामी पनि बसेका हौँ नि । त्यही खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि तिनीहरू चोर हुने, अहिले ठगै चाहिँ असल हुने ?’
सिंहदरबारमा मंगलवार नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई बोलाएर हस्ताक्षर गराएका छन् । कारणबारे भने खुलाइएको छैन ।








