उपसभामुख हटाउने खाली कागजमा शेखर पक्षका सांसदले गरेनन् हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका सांसदहरुले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारीप्रति असन्तुष्टि जनाएका छन् ।
सत्तारूढ कांग्रेस र एमालेले उपसभामुखविरुद्ध प्रस्ताव ल्याउने तयारीस्वरूप सांसदहरूबाट हस्ताक्षर संकलन गरिरहेका बेला कोइराला पक्षले त्यसप्रति आपत्ति जनाएको हो ।
डा. कोइरालाले स्पष्ट रूपमा कुनै कारण नखुलाई खाली कागजमा हस्ताक्षर गर्न नमिल्ने अडान लिएका छन् । ‘अहिलेसम्म मलाई केही खबर आएको छैन । म हस्ताक्षर गर्न गएको छैन । शेखर दाइले पनि अहिलेसम्म नगर्नुभएको मैले बुझेको छु,’ एक सांसदले भने ।
कोइराला पक्षका नेताहरूले उपसभामुख हटाउने विषयमा पार्टीभित्र औपचारिक छलफल नै नभएको गुनासो गरेका छन् । ‘बाहिर चर्चा सुनिएको हो, तर पार्टीभित्र यो विषयमा कुनै निर्णय वा छलफल भएको छैन,’ ती सांसदले भने ।
शेखर कोइराला पछिल्लो समय सरकारको कामकाज र पार्टी नेतृत्वप्रति खुलेर असन्तुष्टि जनाउँदै आएका छन् । उनले विधि, प्रक्रिया र पारदर्शिताको पक्षमा आवाज उठाउँदै आएका छन् ।
उपसभामुख हटाउनेजस्तो गम्भीर विषयमा समेत औपचारिक जानकारी नदिइकन हस्ताक्षर संकलन गरिनु ठिक नभएको कोइराला पक्षका सांसदहरु बताउँछन् ।








