जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित हुँदैन : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित नरहने बताएका छन् ।
हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कुनै एक देशले मात्रै जलवायु परिवर्तनको समस्या समाधान गर्न नसक्ने बताए । उनले जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको बताए । उनले यो काम मूलतः सरकारको भएपनि विधायनका हैसियतमा धेरै कामहरू गर्न सकिने बताए ।
सांसदहरू वैज्ञानिक नभए पनि जलवायु अनुकूलनका लागि बजेट पारित गर्न सक्ने र इन्जिनियर नभए पनि इकोसिस्टम बनाउने र कार्बन उत्सर्जन नियमन बनाउने कानुनको डिजाइन गर्नसक्ने बताए । सांसदहरूले किसान, मछुवारका लागि आवाज उठाउनसक्ने, जागरण पैदा गर्नसक्ने, विषाक्त वायुमा श्वास लिन बाध्य बालबालिकाको चित्कार, एक गाग्री पिउने पानीका लागि बिहानै कोशौँ दूरी तय गर्नुपर्ने मानिसहरूको पीडा कम गर्नसक्ने बताए ।
सभामुख घिमिरेले भने ‘जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित रहँदैन । र कुनै एक देशले मात्रै यसको समाधान गर्न सक्दैन । त्यसैले यसको सामना गर्न हामी सबैको साझा प्रयत्न आवश्यक छ । हामीलाई थाहा छ, यो काम मूलतः सरकारको हो । तर विधायनका हैसियतमा हामीले पनि गर्नसक्ने धेरै कामहरू छन् । हामीले गर्नैपर्छ । हामी सांसदहरू वैज्ञानिक नहौँला, तर जलवायु अनुकूलनका लागि बजेट पारित गर्न सक्दछौँ । हामी सांसदहरू इन्जिनियर नहौँला तर हामी इकोसिस्टम बनाउने र कार्बन उत्सर्जन नियमन बनाउने कानुनको डिजाइन गर्नसक्छौँ । तिनको कार्यान्वयनको निगरानी गर्नसक्छौँ । हामी अभियन्ता होइनौँ, तर हामी किसान, मछुवारका लागि आवाज उठाउन सक्छौँ र जागरण पैदा गर्नसक्छौँ । हामी विषाक्त वायुमा श्वास लिन बाध्य बालबालिकाको चित्कार, एक गाग्री पिउने पानीका लागि बिहानै कोशौँ दूरी तय गर्नुपर्ने मानिसहरूको पीडा कम गर्नसक्छौँ । यी विषयमा सरकारलाई काम गर्न बाध्य बनाउन सक्छौँ । यो हामीले गर्नैपर्ने काम हो ।’
सभामुख घिमिरेले वन जंगल र हिमताल जोगाउने कानुन पारित गर्न आह्वान गरे ।








