उपसभामुख हटाउने निर्णय भएको छैन, तर हिसाब राफसाफ गर्नुपर्नेछ : बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरविरुद्ध हालसम्म संसदमा कुनै प्रस्ताव दर्ता गर्न निर्देशन नआएको स्पष्ट पारेका छन् ।
बर्तौलाले एमाले र कांग्रेसका सांसदहरू आफ्नो दलको कार्यालयमा जान नपाउने भन्ने नभएको बताए । उनले उपसभामुख हटाउँदैछ भन्ने हल्ला चलाइएको बताए ।
आज बिहान मात्रै नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए ।
नेताहरूका अनुसार यो प्रक्रिया उपसभामुख रानामगरलाई पदबाट हटाउने उद्देश्यले गरिएको हो । तर प्रमुख सचेतक बर्तौलाले संसदमा तत्काल प्रस्ताव लैजाने तयारी नभएको बताएका छन् ।
‘उहाँका विरुद्धमा कुनै प्रस्ताव दर्ता गरिहाल्ने भन्ने छैन, हाम्रो पनि, कांग्रेसमा पनि’, उनले भने ।
यद्यपि, बर्तौलाले उपसभामुख रानामगरमाथि उठेको विषय गम्भीर रहेको र त्यसको हिसाब–किताब गरिनुपर्ने बताएका छन् ।
‘उपसभामुखका बारेमा संसदमा उठेको हिसाब राफसाफ गर्न चाहिँ बाँकी छ’, उनले भने, ‘तर अहिले प्रस्ताव लैजाने भन्ने निर्णय भएको छैन ।’
यसैबीच, रानामगर हाल अमेरिका भ्रमणमा रहेकी छिन् । उनीमाथि अमेरिकी भिसाका लागि आफ्नो लेटरप्याड प्रयोग गरी सिफारिस चिठी पठाएको आरोप लागेको छ ।








