एमालेले मलाई स्वीकार गरेन भने पनि एमालेमै रहन्छु : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि राजनीतिमा फर्कन नहुने भन्ने सोच गलत भएको स्पष्ट पारेकी छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपति पद मात्र हो, व्यक्ति होइन भन्दै आफू अब पार्टी राजनीतिमा सक्रिय भएको जानकारी दिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्र र राजतन्त्रबीचको संवैधानिक अन्तर औंल्याउँदै भनिन्, ‘राजा भनेको व्यक्ति हो, तर राष्ट्रपति भनेको पद हो । त्यसैले राष्ट्रपति पदबाट कार्यकाल सकिएपछि राजनीतिमा फर्कन कुनै पनि संवैधानिक रोकटोक छैन ।’
उनले एमालेसँगको ४५ वर्ष लामो राजनीतिक यात्रा समेत स्मरण गरिन् । ‘एमालेले मलाई स्वीकार गरेन भने पनि म एमालेकै नीति, विचार र कार्यक्रम अनुसार अघि बढ्छु । म पार्टीको संगठित सदस्यको हैसियतले काम गरिरहेकी छु’ उनले भनिन् ।
एमालेले भण्डारीको सदस्यता नवीकरण खारेज गरेको निर्णयबारे सोधिएको प्रश्नमा उनले औपचारिक जानकारी नपाएको बताइन् । ‘मलाई कुनै जानकारी आएको छैन,’ उनले संक्षिप्त जवाफ दिइन् ।
देशमा धेरै वामपन्थी दलहरू रहेका कारण वामपन्थी एकता हुने सम्भावना कमजोर रहेको भण्डारीको भनाइ छ ।
उनले वाम दलहरूको विचार, नेतृत्व र कार्यशैलीमा एकरूपता नदेखिएकाले तत्काल वाम एकता सम्भव नरहेको बताइन् ।








