सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बा सम्मानित

पर्सा । सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा सम्मानित भएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको स्मृतिमा स्थापना गरेको ‘वेष्ट इन्ट्रिग्रिटी अवार्ड कार्यक्रम २०८२’ बाट उनी सम्मानित भएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले आज आयोजना गरेको कार्यक्रमबिच सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ताका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र सङ्घका अध्यक्ष हरि गौतमले २५ हजार, सम्मान पत्रसहित प्रहरी नायब उपरीक्षक सुब्बालाई सम्मान गरेका हुन् ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गौतमले थपलियाको योगदान र कर्मलाई चिरस्थायी बनाउन अवार्ड कार्यक्रममार्फत सुब्बालाई सम्मान गरिएको बताए । निजी क्षेत्र र सरकारी निकायबिच एकापसमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए ।
प्रहरी नायब महानिरीक्षक ढकालले सशस्त्र प्रहरी बलले सिमानाकाको सुरक्षाका साथसाथै विपद् व्यवस्थापनमा पनि प्रभावकारी भूमिका खेल्दै आएको बताए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख एवम् गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट समेत उपस्थित थिए ।
वि.सं २०८० भदौ २ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सामा कार्यरत रहँदा प्रहरी उपरीक्षक थपलियाको निधन भएको थियो ।








