संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षित : सांसद रिजाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारीलाई उपेक्षा गरिएको बताएका छन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताएका छन् । उनले संविधान जारी भए लगत्तै आउनुपर्ने विधेयक ढिलो गरी आएको भएपनि केही सकारात्मक सन्देशहरू दिएको बताए । उनले विधेयकमा मस्यौदा लेखनमा सहभागी हुने तहका कर्मचारीका मागहरू सम्बोधन गरेको तर तल्लो तहका कर्मचारीहरूलाई उपेक्षित गरेको आरोप लगाए ।

विधायिकी प्रक्रियामा निजामती कर्मचारीहरू संसद र सरकारभन्दा पनि प्रभावशाली हुन खोजेको भन्दै आपत्ति समेत जनाए । उनले राष्ट्रिय सभाको औचित्य पुष्टि गर्नको लागि भएपनि विधेयकबारे आएका विवादहरूलाई चिरेर पास गर्नुपर्ने धारणा राखे ।

उनले भने ‘हामीले संविधान जारी गरिसकेपछि असाध्यै छिटो लिएर आउनुपर्ने यो संघीय निजामती सेवा विधेयक ल्याउनुपर्थ्यो । मुलुकमा विभिन्न राजनीतिक परिवर्तन हुँदा पनि पुरानै धर्राको कर्मचारी प्रशासनले काम गरिरहेको अवस्था थियो । ढिलै भएपनि आएको यो विधेयकले एउटा सकारात्मक दिशा निर्देश गर्छ भन्ने मलाई लागेकै छ । यो लिएर आउँदा पनि जसको हात जगन्नाथ भने जसरी तल्लो तहको कर्मचारीलाई पनि बिर्सिएको जस्तो देखिएको छ । विधेयकको मस्यौदा लेखनमा सहभागी लगायत माथिल्लो तहको कर्मचारीको माग मात्रै यो विधेयकले सम्बोधन गरेको जस्तो देखिन्छ । सरकारले तल्लो तहको कर्मचारीलाई वास्ता नगरेजस्तो मलाई पनि भान भएको छ । यो निजामती कर्मचारीको नियमन र सेवाको सर्त गर्न बनाइएको विधेयक हो । तर उहाँहरू नै संसदभन्दा बढी प्रभावकारी हुन खोज्ने देखियो । त्यसकारण यो सवत्र चासोको विषय बनेको छ । त्यसका कारण बाहिर आएका विषयहरूलाई पनि सम्बोधन गरेर निक्र्यौल गर्ने तरिकाले आउनुपर्छ ।’

उनले कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा समितिमा गम्भीर छलफल गर्न आवश्यक रहेको धारणा समेत राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =