‘काम गर्न सकिनँ’ भन्दै घोराहीका वडाध्यक्षले दिए राजीनामा, कार्यपालिकाले गर्‍यो स्वीकृत

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र बहादुर शाहले आफ्नो पदबाट राजीनामा दिएका छन् । ‘जनताको काम प्रभावकारी रूपमा गर्न नसकेको’ भन्दै उनले दिएको राजीनामालाई नगर कार्यपालिकाको बैठकले अनुमोदन गरेसँगै उनी औपचारिक रूपमा पदमुक्त भएका हुन् ।

नगरप्रमुख नरुलाल चौधरीले शाहले असार मसान्तमै राजीनामा बुझाएको र आफूले स्वीकृत गरिसकेकोमा सोमबारको कार्यपालिका बैठकले त्यसलाई अनुमोदन मात्र गरेको जानकारी दिए । ‘राजीनामा नगरप्रमुखले स्वीकृत गर्ने प्रावधान छ । असार मसान्तमै स्वीकृत भएको थियो, आजको कार्यपालिकाले त्यसलाई अनुमोदन गरेको छ,’ नगरप्रमुख चौधरीले भने ।

शाह २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । तर, उनले प्रभावकारी काम गर्न नसकेको भन्दै पटक-पटक राजीनामा दिने प्रयास गर्दै आएका थिए । यसैबीच, उनलाई पार्टीले कारबाही समेत गरेको थियो ।

शाहको राजीनामापछि रिक्त वडा अध्यक्षको जिम्मेवारीका लागि वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्ष तोकिएको नगरप्रमुख चौधरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =