जलवायु परिवर्तनले हिन्दुकुश हिमालय क्षेत्र संकटमा : सभापति थापा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनका गम्भीर असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बताएकी छन् । उनले विशेषगरी हिन्दुकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा परेको भन्दै यस क्षेत्रका मुलुकहरूबीच सामूहिक कार्य र ऐक्यबद्धतामा जोड दिएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘हिन्दुकुश हिमालय संसदीय बैठक’लाई सम्बोधन गर्दै सभापति थापाले २१औँ शताब्दीमा जलवायु परिवर्तन मानव सभ्यता र पृथ्वीको प्राकृतिक स्रोतका लागि सबैभन्दा ठूलो चुनौती बनेको बताइन् । ‘जलवायु परिवर्तन मानव जातिको अस्तित्वका लागि नै ठूलो संकट हो,’ उनले भनिन्, ‘आज विश्वका हामी सबैले कुनै न कुनै रूपमा यसको असर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भोगिरहेका छौँ ।’

पृथ्वीको तापक्रम वृद्धिले जैविक विविधतामा ल्याएको ह्रास र वायु प्रदूषणले जनस्वास्थ्यमा पारेको प्रभाव जस्ता असरहरू दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ थियो । उनले जलवायु परिवर्तनका जोखिम न्यूनीकरणका लागि सरकार तथा अन्तर्राष्ट्रिय समुदायबाट भइरहेका प्रयासहरू अपर्याप्त रहेको जिकिर गरिन् ।

सभापति थापाले नेपाल लगायत हिन्दुकुश हिमालय क्षेत्रका मुलुकहरूमा जलवायु परिवर्तनको जोखिम गम्भीर रूपमा देखा परेको र प्राकृतिक प्रकोपका घटनाहरू तीव्र गतिमा बढिरहेकोतर्फ ध्यानाकर्षण गराइन् । ‘यस क्षेत्रको जैविक विविधता संकटमा छ । त्यसैले हिन्दुकुश हिमालयमा पर्ने सबै मुलुकहरूले जलवायु परिवर्तन, जैविक विविधतामा आइरहेको ह्रास र वायु प्रदूषण जस्ता मानव सिर्जित चुनौतीबाट यो क्षेत्र र समग्र पृथ्वीलाई बचाउन आ-आफ्नो ठाउँबाट विशिष्ट योगदान गर्नुपर्छ,’ उनले भनिन् ।

उनले यस्ता साझा चुनौतीको सामना गर्न यस क्षेत्रका मुलुकहरूबीच तत्काल सामूहिक कार्य र ऐक्यबद्धता हुनुपर्ने आवश्यकता औँल्याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 11 =