मधेसवादी दलका शीर्ष नेताहरूको दोहोरो चरित्रले अधिकार गुम्यो : अनिल झा

काठमाडौँ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेस केन्द्रित अन्य राजनीतिक दलहरूको ‘दोहोरो चरित्र’का कारण मधेसले अपेक्षित अधिकार प्राप्त गर्न नसकेको गम्भीर आरोप लगाएका छन् । उनले मधेसका मुद्दामा खरो रूपमा उभिने दलहरूको अभाव रहेको औँल्याउँदै केही दलका नेताहरूले स्थानअनुसार आफ्नो बोली फेर्ने गरेको बताएका हुन् ।

अध्यक्ष झाले केही मधेसवादी दलका नेताहरू मधेसमा ‘जय मधेस’ को नारा लगाउने तर काठमाडौँमा आएर ‘सङ्घीय अभिवादन’ भन्ने गरेको भन्दै कटाक्ष गरे । ‘काठमाडौँमा आएर प्रधानमन्त्रीको पूजा गर्ने र मधेसमा गएर उहाँले नै मधेसलाई सखाप पारे भन्दै हिँड्ने नेताहरूको दोहोरो चरित्र मधेसका जनताले अब बुझ्नुपर्छ,’ उनले भने ।

आफ्नो पार्टीले भने मधेसदेखि सिंहदरबार र अन्तर्राष्ट्रिय समुदायसम्म एउटै मुद्दामा अडान राख्ने गरेको उनको दाबी थियो । आगामी निर्वाचनमा जनताले यस्ता दोहोरो चरित्र भएका दलहरूलाई परीक्षण गर्ने विश्वास व्यक्त गर्दै उनले आफू पनि पुनः परीक्षण हुन तयार रहेको बताए । ‘नेताको परीक्षण हरेक पाँच-पाँच वर्षमा हुन्छ, हामी फेरि पनि टेस्ट दिन तयार छौँ,’ उनले भने, ‘हामी भूमिगत हुने पार्टी होइन, अन्ततः ब्यालेटको राजनीतिमै जाने हो ।’

निर्वाचन आउन अझै दुई वर्ष बाँकी रहेको उल्लेख गर्दै उनले यस अवधिमा आफ्नो पार्टीलाई जनस्तरसम्म विस्तार गर्ने र जनतामाझ आफ्ना एजेन्डा स्पष्ट पार्ने योजना रहेको बताए । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) छाडेको झाले अघिल्लो महिना मात्रै नेपाल सद्भावना पार्टी ब्युँताएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =