सुशासन, विकास र भ्रष्टाचार नियन्त्रणका लागि आइटी अनिवार्य : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) सुशासन, विकास र भ्रष्टाचार नियन्त्रणका लागि एक अनिवार्य अस्त्र बनिसकेको बताएका छन् । उनले दैनिक जीवनदेखि राष्ट्रिय विकाससम्मका हरेक क्रियाकलापमा आईटी अपरिहार्य भइसकेको उल्लेख गर्दै यसको बहुआयामिक प्रयोगमार्फत देशलाई सुव्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५’ लाई आइतबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक विश्वमा आईटी बिनाको दैनिकी कल्पनासमेत गर्न नसकिने अवस्थामा पुगेको बताए ।
उनले समाजलाई सभ्य र उन्नत बनाउन, देशमा सुशासन सुदृढ गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र जनतालाई सहज रूपमा सेवा-सुविधा पुर्याउन आईटीको प्रयोग अनिवार्य रहेको बताए । ‘आज आईटी सुशासन, विकास र मानिसको दैनिक जीवनका लागि अपरिहार्य भइसकेको छ । हामी आईटी बिना चल्नै नसक्ने अवस्थामा छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो विकासलाई आईटीले तीव्रता दिनुपर्छ र यसलाई समाज र सुशासनको सहयोगीका रूपमा प्रयोग गर्न जरुरी छ ।’
उनले राष्ट्र निर्माणका हरेक पक्षमा सूचना प्रविधिको प्रयोगलाई बढावा दिएर मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे ।








