टप एन्ड टी-ट्वान्टी सिरिज

सन्दीप चम्किँदा पनि नेपाललाई १७६ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले जितका लागि १७६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ । उत्कृष्ट बलिङ गर्दै सन्दीप लामिछानेले ३ विकेट लिए पनि मेलबर्न स्टार्सको विशाल शतकीय साझेदारीले नेपालसामु बलियो लक्ष्य प्रस्तुत गरेको हो ।

डार्विनस्थित टीआईओ स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । स्टार्सको सुरुवात भने कमजोर थियो । तीव्र गतिका बलर सोमपाल कामीले ओपनर क्याम्पबेल केलावेलाई मात्र २ रनमा पेभेलियन फर्काउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

तर, त्यसपछि दोस्रो विकेटका लागि थोमस रोजर्स र ब्लेक म्याकडोनाल्डले १२२ रनको विशाल शतकीय साझेदारी गर्दै इनिङ्स उकासे । विस्फोटक ब्याटिङ गरेका म्याकडोनाल्डले ४७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए भने रोजर्सले ४६ बलमा ४६ रन जोडे ।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट पुनरागमन गराए । उनले खतरनाक बनेको शतकीय साझेदारी तोड्दै महत्वपूर्ण ३ विकेट लिए । आफ्नो ४ ओभरको स्पेलमा उनले केवल २६ रन मात्र खर्चिए । यसैगरी, सोमपाल कामी र साहब आलमले एक-एक विकेट लिए ।

प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो । सिरिजमा आफ्नो उपस्थिति बलियो बनाउन नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =