रहेनन् ‘गोलसिमल’ उपमा पाएका वरिष्ठ गीतकार प्रेमविनोद नन्दन

चितवन । नेपाली गीत, गजल र साहित्यको क्षेत्रमा मोफसलबाटै विशिष्ट पहिचान बनाएका वरिष्ठ स्रष्टा प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
तनहुँको बन्दीपुरमा जन्मेर जीवनको लामो समय चितवनमा बिताएका नन्दन राजधानी बाहिर बसेरै नेपाली साहित्य र संगीतमा आफूलाई स्थापित गराउन सफल एक अथक साधक थिए । उनको साहित्यिक उचाइबाट प्रभावित राष्ट्रकवि माधवप्रसाद घिमिरेले उनलाई ‘गोलसिमल’ को संज्ञा दिएका थिए, जो जहाँ बसे पनि आफ्नो उचाइ कायम राख्छ ।
गजलमा तत्काल दोहोरी फर्काउन सक्ने अद्भुत क्षमताका धनी नन्दनका रचनाहरूले नेपाली संगीतको स्वर्णिम युगलाई सुशोभित गरेका छन् । उनका गीतहरूमा नातिकाजी, गोपाल योञ्जन र शम्भुजित बाँस्कोटा जस्ता शिखर संगीतकारले संगीत भरेका छन् भने आशा भोस्ले, सुरेश वाडकर, उदितनारायण झा, प्रेमध्वज प्रधान, दीपा झा जस्ता नेपाल र भारतका ख्यातिप्राप्त गायक-गायिकाले स्वर दिएका छन् ।
‘कान्छी सन्तान’, ‘मोहनी’, ‘अवला’, ‘मानिस’, ‘कर्जा’ जस्ता कैयौँ सफल नेपाली चलचित्रमा उनले लेखेका गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् । साहित्यतर्फ उनका ‘झटारो’, ‘अञ्जली’, ‘सपनीबाट ब्यूँझेर’ जस्ता गीतिसङ्ग्रह, ‘सिद्धार्थको ग्रह त्याग’ लघुकाव्य र ‘पत्रम पुष्पम्’ कविता सङ्ग्रह प्रकाशित छन् ।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहकारसमेत रहेका नन्दन छिन्नलता गीत पुरस्कार, नारायणी प्रज्ञा पुरस्कार, राष्ट्रिय स्रष्टा सम्मान लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट विभूषित थिए । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नारायणी कला मन्दिरमा राखिने र आजै देवघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।








