लगातार दुई खेल गुमाएको नेपाल पहिलो जितको खोजीमा, आज मेलबर्नसँग प्रतिस्पर्धा

काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा लगातार दुई खेलमा पराजय भोगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) आफ्नो तेस्रो तथा महत्त्वपूर्ण खेल खेल्दैछ । पहिलो जितको खोजीमा रहेको नेपालले बलियो अस्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्सको सामना गर्नेछ ।

डार्विनस्थित टीआईओ स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ । नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् भने मेलबर्न स्टार्सको कप्तानी बिग ब्यास लिग (बीबीएल) को अनुभव बटुलिसकेका साम हार्परले सम्हाल्नेछन् ।

प्रतियोगितामा नेपालको सुरुवात सुखद रहन सकेको छैन । यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले चुकेको थियो । त्यसैले, प्रतियोगितामा आफ्नो सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

अर्कोतर्फ, मेलबर्न स्टार्सले प्रतियोगितामा मिश्रित प्रदर्शन गरेको छ । पहिलो खेलमा मेलबर्न रेनेगेड्ससँग ४ रनको झिनो अन्तरले पराजित भएको स्टार्सले दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गर्दै लयमा फर्किएको थियो । नेपाललाई हराउँदै तालिकामा आफ्नो स्थिति थप सुधार्ने दाउमा स्टार्स मैदान उत्रनेछ ।

नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =