बिपिन जोशीकी आमा र बहिनिले भेटिन् इजरायली राष्ट्रपति

काठमाडौं । गत वर्ष हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइको माग गर्दै उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गरेका छन् ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा राष्ट्रपति कार्यालयमा भएको भेटका क्रममा बिपिनकी आमाले छोरा निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै मानवीय आधारमा चाँडोभन्दा चाँडो रिहाइका लागि पहल गर्न अनुरोध गरेकी हुन् ।

उनकी बहिनी पुष्पाले पनि बिपिनको रिहाइका लागि व्यक्तिगत अपिल गर्दै अन्तर्राष्ट्रिय प्रयासलाई अझ बलियो बनाइदिन आग्रह गरिन् । राजदूत पण्डितले पनि बिपिनको अवस्थाबारे जानकारी दिँदै इजरायली सरकारबाट थप चासो र पहलको अपेक्षा व्यक्त गरे ।

राष्ट्रपति हर्जोगले ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमण र त्यसक्रममा बन्धक बनाइएका व्यक्तिहरूको अवस्थाबारे स्मरण गर्दै भने, ‘बिपिन जोशीलाई हामी आफ्नै नागरिकझैं मान्छौं । सबै बन्धकहरूको सकुशल रिहाइका लागि इजरायली सरकार निरन्तर प्रयासरत छ ।’

उनले नेपाल सरकारसमेत यस मामिलामा सम्बन्धित अरब मुलुकहरूसँग संवादमा सक्रिय भए थप प्रगति सम्भव हुने विश्वास व्यक्त गरे ।

बिपिनकी आमा र बहिनीले इजरायली संसद (केनेसट) का अध्यक्ष अमिर ओहानासँग पनि छुट्टै भेट गरेका छन् ।

ओहानाले नेपाल–इजरायलबीचको सुमधुर सम्बन्धलाई स्मरण गर्दै बिपिनप्रति गहिरो चासो रहेको बताए ।

उनले हालै जेनेभामा नेपालका समकक्षीसँग भएको छलफलमा पनि बिपिनको प्रसंग उठाइएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =