सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिलाई तीव्रता दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिलाई तीव्रता दिनुुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तरराष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई ‘भर्चुअल’रुपमा आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सूचना प्रविधिको उपयोग अनिवार्य भएको बताए ।

उनले आफ्नो पहिलो प्रधानमन्त्रीको कार्यकालमा सिङ्गो मुलुकलाई प्रविधिमैत्री तुल्याउन ‘डिजिटल नेपाल’को ‘फ्रेमवर्क’ तयार गरेको र अहिले त्यसलाई कार्यान्वयनको काम भइरहेको उल्लेख गर्दै हालै ‘आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई)’ सम्बन्धी नीति ल्याएको बताए ।

प्रधानमन्त्री ओलीले कानुुनमा संशोधनमार्फत नेपालमै बसेर सूचना र प्रविधिका क्षेत्रमा विदेशमा कम्पनी खोल्न सकिने व्यवस्था गरिएको स्मरण गरे । “हामीले देश, समाज र सिङ्गै मानव जातिलाई अझ उन्नत र परिस्कृत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ । सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा यसलाई प्रयोग गर्दै विकासमा व्यापकता, सामाजिक सद्भाव र नवीनताका लागि सहयोग लिन आग्रह गर्दछुु”, उनले भने “हामीले गत वर्षको ‘एसइई’मा ‘अनलाइन’ कक्षाका माध्यमबाट १४ प्रतिशतसम्म नतिजामा सुधार ल्याउन सकेका छौँ ।”

प्रधानमन्त्री ओलीले स्वास्थ्य र अन्य क्षेत्रमा पनि सूचना प्रविधिको उपयोग गर्दै आएको बताए । “यसको दुरुपयोगबाट हुने कमीकमजोरी र विकृतितप्रति हामी सजग हुनुपर्छ”, उनले भने । प्रधानमन्त्री ओलीले सरकार प्रेस तथा अभिव्यक्तिका पक्षमा रहेको स्पष्ट गर्दै समाजलाई हानि पुग्ने खालका सूचना सम्प्रेषण भने गर्न नहुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =