रास्वपाको उम्मेदवार छनोट प्रक्रिया तीव्र, शीर्ष नेताहरूद्वारा आकांक्षीहरूको परीक्षण

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवार चयन प्रक्रियालाई तीव्र र परिष्कृत बनाएको छ । यसै क्रममा, उम्मेदवारीका लागि आवेदन दिएका नौ जना आकांक्षीहरूको गहन मूल्यांकन गर्न पार्टीका शीर्ष नेताहरूको एक टोली भैरहवा आइपुगेको छ ।
भैरहवास्थित रामादा होटलमा आयोजित ‘क्यान्डिडेट बेन्च’ नामक विशेष छलफल कार्यक्रममा उम्मेदवारका आकांक्षीहरू सहभागी भएका छन् । पार्टीले उम्मेदवार छनोटका लागि अपनाएको यो बौद्धिक अभ्यासमा आकांक्षीहरूसँग प्यानल छलफल गर्न सह-महामन्त्री विपिन आचार्य, प्रवक्ता एवं सांसद मनिष झा, सांसद एवं पूर्व शिक्षामन्त्री शिशिर खनाल र सांसद प्रा. डा. चन्दा कार्की लगायतका नेताहरू रुपन्देहीमा उपस्थित छन् ।
छनोट प्रक्रियालाई थप गहन बनाउँदै पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले प्रत्येक निवेदकसँग व्यक्तिगत रूपमा ‘वान अन वान’ छलफल हुनेछ । यस चरणमा आकांक्षीहरूको विषयगत ज्ञान, प्रस्तुतीकरण र नेतृत्व क्षमताको सुक्ष्म मूल्यांकन गरिने बताइएको छ ।
रास्वपाका अनुसार, यो छनोट प्रक्रियाको मुख्य उद्देश्य केवल उम्मेदवार छान्नुर मात्र नभई संविधान, देशको वर्तमान चुनौती, राजनीतिक परिवेश, स्थानीय मुद्दा, संसदीय अभ्यास र जनचासोका विषयमा आकांक्षीहरूको ज्ञान, बुझाइ र दृष्टिकोणको गहिराइ मापन गर्नु हो ।
२०७९ सालको निर्वाचनमा विजयी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको हो । उक्त निर्वाचनमा रास्वपाका उम्मेदवार तेस्रो स्थानमा थिए । यस पटकको उपनिर्वाचनमा व्यवस्थित छनोट प्रक्रियामार्फत बलियो उम्मेदवार उठाएर नतिजा आफ्नो पक्षमा पार्ने रणनीति रास्वपाले लिएको देखिन्छ ।








