लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

पाल्पा । ऐतिहासिक भगवती जात्राको अवसरमा आज लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । नेपाल-अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष हुँदै आएको भगवती जात्राको अवसरमा आइतबार प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।
नेपाल-अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सव स्वरूप भगवती जात्रा (रथयात्रा) निकाल्दै आएको छ । यस वर्ष २०६औँ भगवती खट यात्राको तयारी पूरा भएको समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए ।
किंवदन्तीअनुसार तत्कालीन पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा विजय प्राप्त गरे भगवतीलाई तीन तले मन्दिर बनाएर सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए । युद्ध जितेपछि विसं १८७७ बाट विजय उत्सवका रूपमा भगवती जात्रा मनाउन थालिएको र सो परम्परा निरन्तर चल्दै आएको समितिले जनाएको छ ।
स्थानीय बासिन्दा र भक्तजनको सहभागितामा निकालिने यस रथयात्राले भगवतीको महिमाको प्रचार-प्रसार गर्ने मात्र नभई धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।








