नेपालको समृद्धिको दिगो आधार पर्यटन हो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालको समृद्धिको दिगो आधार पर्यटन क्षेत्र रहेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको समृद्धिको आधार पर्यटन रहेको बुझेर संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी रहेको बताए । उनले कुनैपनि मुलुकको विकासका लागि जनताको जीवनस्तर माथि उठाउनुपर्ने बताए । उनले अभाव र गरिबीको बीचमा रहेर सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्न नसकिने बताए । उनले नेपालमा जनताको स्तर माथि उकास्ने कुरा भनेको कृषिको रूपान्तरण नै रहेको जिकिर गरे ।
महासचिव पोखरेलले भने ‘कुनैपनि मुलुकको विकासका सन्दर्भमा सबैभन्दा पहिलो फाउण्डेशन त नताको जीवनस्तर माथि उठाउने कुरा नै रहेछ । अभाव र गरिबीको बीचमा रहेका जनताको बीचमा रहेका सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्न सकिँदैन । सम्पदा क्षेत्रको जीवनस्तर माथि उठाउने कुरा नै मुख्य कुरा रहेछ । जीवनस्तर उठाउन सम्पदाहरूले पनि योगदान गर्दछन्, मुख्य कुरा जीवनस्तर उठाउने कुराबाट जोडिन्छ । जीवनस्तर उठाउनका लागि मुख्य आधार भनेको हाम्रो कृषिको रूपान्तरण नै हो । त्यसअर्थमा कृषिलाई फाउण्डेशन ठान्दछु । त्यसपछि कृषि आधारित उद्यमहरूको विकासको कुरा हो । त्यसपछि जैविक विविधतामा आधारित उद्यमको कुरा हो । हाम्रो समृद्धिको आधारमा के हुन्छ भने पर्यटन नै हुन्छ । नेपालको समृद्धिको दिगो आधार पर्यटन हो भन्ने बुझेर त्यसमा संस्कृतिलाई जोड्नुपर्छ ।’
महासचिव पोखरेलले नेपालको पर्यटनको केन्द्रबिन्दु कर्णाली प्रदेश हुने बताए । उनले लुम्बिनी क्षेत्रलाई डिप्लोमेसीको सन्दर्भमा नयाँ आयामका रूपबाट जोड्न सक्नुपर्ने बताए ।








