माओवादीसँग एकताको हल्लामा नपर्नुस्, यो ‘माओवादी हल्ला’ हो: एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ । पार्टी एकता हुन लागेको भन्दै चलेको चर्चालाई ‘माओवादी हल्ला’को संज्ञा दिँदै एकीकृत समाजवादीले त्यस्तो हल्लाको पछि नलाग्न आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएको छ ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले सामाजिक सञ्जालमार्फत पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै हालै सम्पन्न सचिवालय बैठकले एकताको विषयमा कुनै निर्णय नगरेको प्रष्ट्याएका हुन् ।

पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले विभिन्न वामपन्थी शक्तिहरूसँग सहकार्य गर्ने र समाजवादी मोर्चालाई थप मजबुत बनाउने निर्णय गरेको जानकारी दिँदै उनले तत्कालका लागि पार्टी एकताको कुनै योजना नरहेको बताए । ‘हाम्रो पार्टीको हिजो बसेको सचिवालय बैठकले विभिन्न वाम पार्टीहरूसँग सहकार्य गर्ने र समाजवादी मोर्चालाई थप मजबुत बनाउने निर्णय गरेको हो,’ अर्यालले फेसबुकमा लेखेका छन्, ‘त्यसबाहेक हाम्रो पार्टीको सङ्गठन निर्माण र आन्दोलनका सम्बन्धमा आवश्यक अन्य महत्त्वपूर्ण निर्णय पनि गरेको छ ।’

उनले पार्टी एकताको हल्ला नियोजित भएको सङ्केत गर्दै थपे, ‘यतिखेर अरू वाम पार्टीहरूसँग पार्टी एकता गर्ने पार्टी सचिवालयले कुनै पनि निर्णय, योजना र मनसाय प्रकट गरेको छैन । तसर्थ, पार्टी एकता हुँदैछ भन्ने प्रकारको माओवादी हल्लामा नपर्न सम्पूर्ण कमरेडहरूलाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =